• १२ असोज २०८१, शनिबार

मुन्दुमी शैलीमा मनाइयो जन्मोत्सव

blog

जन्मोत्सवको अवसरमा रकम सहयोग गर्नुहुँदै समृद्ध राई । तस्बिर: रासस

खोटाङ, मङ्सिर ११ गते । चेल्सी इन्टरनेशनल (विद्या संस्कार) स्कुलमा अध्ययनरत समृद्ध राई विद्यालयबाट फर्कनसाथ मुन्दुम महाज्ञान केन्द्र चाबहिल काठमाडौँ पुग्नुभयो । सीमित आफन्त र नातेदार केन्द्रमा जम्मा भइसक्नुभएको थियो । त्यहाँ पुग्दा राईको कुङ्सल्मा सायरेम्मा (सङ्कल्प तथा शिर उभ्याउनी)का लागि तयारी भइसकेको थियो । मुन्दुमी मविन्द्र राई ‘साइँलाखुइँ’का अघि उहाँ हात जोडेर बस्नुभयो । 

झन्डै ४० मिनेटमा सङ्कल्प तथा शिर उभ्याउनी कार्यक्रम सकियो । सो समयावधिमा दिलीहोँ, नाकीहोँ र मामा चिनिमालाई सम्झने काम भयो । किराँत राई समुदायले दिलीहोँ, नाकीहोँ र मामा चिनिमालाई सृष्टिकर्ताका रूपमा आदर गर्छन् । 

कुलपितृ रूपमा भने माछाक्मा (कोक्मा पिरिमा)लाई सम्मान गर्दै दायाहुइलुङ (तीनचुला)को पूजा गर्छन् । यो सबैले गर्दा राम्रो हुन्छ । पुर्खाबाट जान–अन्जानमा गल्ती भएको थियो भने पनि सङ्कल्प र शिर उभ्याउनी गर्दा सम्बन्धित व्यक्ति र परिवारको भलो हुन्छ । 

“यो धर्ती, जहाँ हामीले टेकेका छौँ, यहाँ हामीले प्राकृतिकरूपमा जे–जे खाएका छौँ, उपभोग गरेका छौँ”, मुन्दुमी राईले सुनाउनुभयो, “हामीले पिउने पानी, उपभोग गर्ने आगो र दायाहुइलुङ (तीन चुला) प्रयोग गर्ने गरेकामा प्रकृतिलाई धन्यवाद ज्ञापन गर्छौँ । अर्थात् प्रशंसा (छामछुइमा) गछौँ । समृद्ध राईको जन्मोत्सवमा आयोजित सङ्कल्प तथा शिर उभ्याउनीमा ती सबै–सबै काम ग-यौँ ।” 

“हामीले अझै अर्थपूर्ण तरिकाले बाँच्नु छ । बाँचुन्जेलका लागि ग्रहदशा, रोगव्याधि नलागोस् र शिर उच्च राख्नैपर्छ”, उहाँले थप्नुभयो, “समाजमा राम्रो काम गरेर अरूलाई पनि बाटो देखाउने सकियोस् भनेर प्रार्थना गर्दै समृद्ध राईलाई शक्ति मागियो ।” 

सङ्कल्प तथा शिर उभ्याउनी कार्यक्रम सकिनासाथ समृद्ध राईले मुन्दुम महाज्ञान केन्द्र अध्यक्ष मविन्द्र राई ‘साइँलाखुइँ’लाई रु नौ हजार हस्तान्तरण गर्नुभयो । आफू नौ वर्ष पुगेको अवसर पारेर समृद्धले केन्द्रका अध्यक्ष राईलाई रु नौ हजार हस्तान्तरण गर्नुभएको हो ।

उहाँले सालिन्दा आफू जति वर्ष पुग्नुहुन्छ, त्यति नै हजार सहयोग गर्दै आउनुभएको छ । “फलानो कति राम्रो हौँ । पुर्खाले भागमा राखिदिएका रहेछन् । सम्बन्धित व्यक्तिका आमाबुवाले सन्तानका नाममा जे राखिदिएका हुन्छन्, त्यो पाइन्छ भन्ने विश्वास गरिन्छ”, केन्द्रको नाममा प्राप्त आर्थिक सहयोग ग्रहण गर्दै मविन्द्र राई ‘साइँलाखुइँ’ले प्रशंसा गर्नुभयो, “खनेको बाटोमा हिँड्न पाइन्छ भनेजस्तै समृद्ध राईका अभिभावकले खनेको र देखाएको उदाहरणीय बाटोमा उहाँहरूमात्रै होइन, हामी पनि हिँड्न पाउँदा कम्ती आनन्द लाग्दैन । यो बाटोमा सबै–सबै हिँड्ने हो भने हाम्रो समाज त्यत्तिकै सुन्दर बन्नेछ ।” 

आर्थिक सहयोग हस्तान्तरणलगत्तै केक काटियो । केक काट्दा माटाको पाला (दियो)मा नौवटा बत्ती बलिरहेका थिए । जन्मदिन मनाउँदा बालेको बत्ती या क्यान्डल निभाउने गरिन्छ । तर त्यहाँ त्यसो गरिएन । ‘समृद्ध राई नौ वर्ष पुगेको अवसरमा मुन्दुमी विधिबाट त्यो पनि बत्ती ननिभाई फरक प्रकृतिको जन्मोत्सव मनाइयो”, त्यस्तो दृश्य देखेपछि कवि तथा लेखक सोनाम सज्जन किराँतीले प्रतिक्रिया दिनुभयो, “समृद्धका पुस्ताले आफ्नो भाषा, संस्कार, संस्कृति कहिल्यै बिर्सनु हँुदैन । उहाँका पुस्ताले यस्तो प्रतिज्ञासहितको जन्मदिन मनाउन सम्बन्धित अभिभावकले प्रेरित गरिरहनुपर्छ । समृद्ध राई त्यसरी नै अघि बढ्नुपर्छ । हामी अग्लिएर सहयोग गरिरहनेछौँ ।” 

समृद्ध राईले मनाउँदै आउनुभएको जन्मोत्सवलाई तीन तरिकाले अथ्र्याउन सकिन्छ । “सर्वप्रथम जन्मोत्सवलाई समेत सामाजिक उत्तरदायित्वसँग जोडेको देखिन्छ । हामीले मनाउने जन्मोत्सवलाई निजीमात्रै नभएर, सामाजिक हितमा सोच्नुपर्छ भनेर सिकाउँछ”, मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, “मै खाऊँ, मै लाऊँ, मोजमस्ती मै गरूँ भन्ने पुँजीवादी अर्थात् व्यक्तिकेन्द्रित धारणालाई अलिकति फराकिलो तरिकाले सोच्न बाध्य बनाएको छ ।”

सामाजिक लाभ र हितनिम्ति अर्थात् आफूमात्रै गरिखाऊँभन्दा पनि सबैको हितका लागि सामूहिक प्रयत्न गरूँ भन्ने शिक्षा दिएको छ । मुन्दुम अध्येता चाम्लिङले जोड दिनुभयो, “कमाउने कुरामात्रै होइन, सामाजिक भलाइका लागि वितरण गर्नु पनि महत्वपूर्ण हो ।”  

बालबालिका भनेको काँचो माटा हुन् । “उनीहरूलाई जे सिकाइन्छ, त्यही अवलम्बन गर्छन्”, उहाँले प्रस्ट्याउनुभयो, “जन्मोत्सवमा गरिने सानो–तिनो आर्थिक सहयोगबाट पनि छोराछोरीलाई मार्गदर्शन गराउन सकिन्छ भन्ने समृद्ध राईका आमाबाबुले दिन खोज्नुभएको गतिलो शिक्षा पनि हो ।” 

“समृद्ध राईले सालिन्दा मनाउँदै आउनुभएको जन्मोत्सव नजिकबाट नियाल्दै आएको छु”, जन्मोत्वसमा सहभागी समाजसेवी भूपेन्द्रकुमार राईले खुसी व्यक्त गर्नुभयो, “यसरी मनाइने जन्मोत्सव उदाहरणीय, सराहनीय, अनुकरणीय र अनुशरणीय मानिन्छ ।”

होलेसुङ समूह नेपालका अध्यक्ष जनकराज राईले समृद्ध राईको जन्मोत्सव मनाउने फरक अभ्यासबाट हामी सबैलाई केही न केही सिकाएको बताउनुभयो । अध्यक्ष राईको बुझाइ छ, “यसले दिन खोजेको साँस्कृतिक पाठ झन् महत्वपूर्ण छ ।”

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी समृद्ध राईले सालिन्दा आर्थिक सहयोग गर्दै आएका छन् । कक्षा ४ मा अध्ययनरत विद्यार्थी राईले यसअघि जन्मदिनकै अवसर पारेर चितवनको टाँडीमा रहेको ‘सानोघर’लाई रु सात हजार (२०७६), खोटाङको जालपामा रहेको ‘ज्योतिका साथीहरू)लाई पनि रु सात हजार (२०७७) र जिपी कोइराला मेमोरियल क्याम्पस काठमाडौँका निमित्त क्याम्पस प्रमुख मोहनराज राईको उपचार सहयोगार्थ रु आठ हजार ९२०७८० सहयोग गरिसक्नुभएको छ । 

चाडबाडमा पाएको दक्षिणा, कतिपयले माया गरेर चक्लेट, बिस्कुट खानु है भन्दै दिएको पैसा समृद्ध राई नामक खुत्रुकेमा सङ्कलन गरिन्छ । सालिन्दा जन्मोत्सवको अघिल्लो दिन खुत्रुके फुटाइन्छ । “आफूमात्रै होइन, बाँडेर खानुपर्छ भन्ने पाठ सिकाउन जन्मोत्सवमा सहयोग गर्न सिकाइरहेका छौँ”, समृद्ध राईकी आमा रिङ्कु राईले भन्नुभयो, “विगत वर्षहरूमा छोराको बर्थ डे मनाउँदा आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । खानपिन गर्ने÷गराउने खर्च कटौती गरेर समृद्धको बर्थ डेका दिन सामाजिक काममा लगाउने पारिवारिक सल्लाह ग-यौँ । तसर्थ, हामीले चार वर्षदेखि यस्तो अभ्यास गरिरहेका छौँ ।”