• १३ असोज २०८१, आइतबार

एक हजार ९२१ जनाको धरौटी गुम्ने खतरा

blog

प्रकृति अधिकारी / अजय शर्मा

काठमाडौँ, मङ्सिर ११ गते । हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।

निर्वाचनमा देशभर दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक हजार ९२१ जनाको धरौटी सुरक्षित हुन सकेको छैन। हालसम्मको परिणामअनुसार ४९१ जना उम्मेदवारले धरौटी फिर्ता पाउने भएका छन्। यीमध्ये केही जिल्लाको मतगणना भइरहेकाले अन्तिम परिणाम आएको छैन तर बाँकी मतगणनाका आधारमा अधिकांशको धरौटी जोगिने सम्भव छैन।

मतगणनाका आधारमा सबैभन्दा बढी बागमती प्रदेशमा ५१२ जनाको धरौटी गुमेको छ। सबैभन्दा कम कर्णालीमा ४७ जनाको धरौटी जोगिएन। प्रदेश नम्बर १ मा ३७० जना, मधेश प्रदेशमा ४९७ जना, गण्डकी प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २७३ जना र सुदूरपश्चिम प्रदेशमा ८३ जनाको धरौटी गुमेको अवस्था छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना भइसकेका स्थानमा धरौटी गुमाएकाहरूको अन्तिम विवरण औपचारिक रूपमा अझै सङ्कलन नगरिएको बताउनुभयो। हालसम्म धरौटी गुमाएकाको तथ्याङ्कअनुसार एक करोड ९२ लाख १० हजार रुपियाँ राज्यले फिर्ता दिइरहनुपर्ने छैन।

आयोगका अनुसार हालसम्मको मतपरिणामअनुसार सबैभन्दा कम हुम्ला र मनाङमा एक–एक जनाको मात्र धरौटी गुमेको छ। दुवै जिल्लामा एउटा निर्वाचन क्षेत्र छ। ती दुवै जिल्लामा तीन–तीन जनाले मात्र उम्मेदवारी दिएका थिए। मनाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङ र हुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजबहादुर रावतको धरौटी गुमेको छ। मुस्ताङमा चार जनाले उम्मेदवारी दिएकोमा दुई जनाले धरौटी सुरक्षित राख्न सक्नुभएन।

सबैभन्दा बढी काठमाडौँ क्षेत्र नम्बर ४ मा २९ जनाको धरौटी गुमेको छ। त्यस्तै मोरङ ३ र धनुषा ३ मा २८÷२८ जनाको धरौटी गुमेको छ। यसैगरी धनुषा क्षेत्र ४ र काठमाडौँ १ मा २७ तथा काठमाडौँ क्षेत्र नम्बर २, ५ र ७ मा २६/२६ जनाको धरौटी सुरक्षित हुन सकेन।

प्रत्यक्षतर्फ शून्य मत प्राप्त गर्ने उम्मेदवार पनि छन्। धनुषा क्षेत्र नम्बर ४ का राजेशकुमार यादव (स्वतन्त्र)को शून्य मत रहेको छ। त्यस्तै कम मत पाउने अधिकांश स्वतन्त्रका उम्मेदवार छन्। एक मत प्राप्त गर्ने सबैभन्दा बढी धनुषा क्षेत्र ४ मा छन्। सो क्षेत्रमा पाँच जना उम्मेदवारले एक मात्र मत ल्याएका छन्। 

त्यस्तै मोरङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र दुई जना, काठमाडौँ १ मा स्वतन्त्र दुई जना, काठमाडौँ ४ मा स्वतन्त्र एक जना र चितवन ३ मा स्वतन्त्र एक जनाले एक/एक मत मात्र ल्याएका छन्।

चर्चित नेताका रूपमा परिचित तथा पूर्वमन्त्री लक्ष्मणलाल कर्ण (पर्सा–१), राजेन्द्र श्रेष्ठ (काठमाडौँ–७) र रामवीर मानन्धर (काठमाडौँ–७) ले धरौटी जोगाउन सक्नुभएन। जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता श्रेष्ठ दुई पटक सांसद र दुई पटक मन्त्री भइसक्नुभएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता कर्ण तीन पटक सांसद र एक पटक मन्त्री बन्नुभएको थियो। त्यस्तै मानन्धर दुई पटक सांसद र एक पटक राज्यमन्त्री भइसक्नुभएको थियो। उहाँ विगतमा नेकपा (एमाले)मा हुनुहुन्थ्यो। त्यस्तै अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर चर्चामा आउनुभएकी रञ्जु दर्शना (काठमाडौँ–५)ले पनि धरौटी सुरक्षित राख्न सक्नुभएन। एमालेले उम्मेदवार नबनाएको झोकमा पूर्वसांसद गङ्गा चौधरी सत्गौवा (दाङ–१) र लेखक युग पाठक (झापा–५)ले पनि धरौटी सुरक्षित गर्न सक्नुभएन।

राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा (माले), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली कांग्रेस बीपी, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, हाम्रो नेपाली पार्टी, गान्धीवादी पार्टी नेपाललगायतका दलका उम्मेदवारले धरौटी जोगाउन सकेनन्।