• १२ असोज २०८१, शनिबार

उत्कृष्ट करदाता सम्मानित

blog

दमक समाचारदाता

दमक, मङ्सिर ९ गते । झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पतालले सेवा विस्तार गर्ने भएको छ । १३ वर्षदेखि एक सय शय्यामा सञ्चालन हुँदै आएको अस्पतालले सेवा विस्तार गर्दै दुई सय शय्या सञ्चालन गर्ने भएको छ । 

सो अस्पतालले मेची क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, झापा र सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई प्रभावकारी सेवा दिँदै आएको छ । यो अस्पताल मेची अञ्चल क्षेत्रमा स्वास्थ्य सेवा प्रदायक क्षेत्रबाट सर्वाधिक कर दाखिला गरेको भन्दै विगत तीन वर्षदेखि सम्मानित हुँदै आएको छ । 

एघारौँ राष्ट्रिय कर दिवसका अवसरमा आयोजित समापन कार्यक्रममा उत्कृष्ट करदाताको सम्मानपत्र लिएपछि अस्पतालका अध्यक्ष दीपककुमार पोखरेलले अस्पतालबाट प्रभावकारी सेवा उपलब्ध गराउने क्रममा अत्याधुनिक उपकरण, दक्ष प्राविधिक तथा जनशक्ति र भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिएको र चाँडै दुई सय शय्या सञ्चालन गरिने जानकारी दिनुभयो ।

सौर्य एयरलाइन्सका अध्यक्षसमेत रहेका पोखरेलले अस्पतालले विगतदेखि नै वृद्धवृद्धा, असहाय तथा बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख सुबप्रसाद रिजालले आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै कर तिर्नेमा ओम साई पाथीभरा अस्पताल उत्कृष्ट ठहरिएको भन्दै अध्यक्ष पोखरेललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।