• १३ असोज २०८१, आइतबार

डोटीमा प्रत्यक्षतर्फ ८ हजार ६२० मत बदर

blog

समानुपातिक तर्फको मत गणना गरिदै । तस्बिर : केशवचन्द्र महरा

केशवचन्द्र महरा 

दिपायल, मङ्सिर ८ गते । डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको पाइएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।

एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सभा (क) तर्फ ३३ हजार ३२२ मत खसेको थियो । जसमध्ये एक हजार ९१९ मत बदर भएको छ । ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख) तर्फ एक हजार ७ सय ३२ मत बदर भएको छ ।

प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले मगर ४ हजार २०६ मतको अन्तरले विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा नेकपा (एमाले) का चक्र मल्ल ४५० मतको अन्तरले विजयी हुनुभएको छ । यस्तै, प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभयो । 

उम्मेदवारबीचको मतान्तर हेर्दा बदर मतको संख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरुको गुनासो छ ।

प्रदेश र प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिक तर्फको मतको नतिजा सार्वजनिक हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृत पाण्डेयले समानुपातिक तर्फको मत गणना जारी रहेको बताउँदै शुक्रबार बिहानसम्म नतिजा सार्वजनिक हुने बताउनुभयो ।