• ७ जेठ २०८१, सोमबार

पचपन्न वर्षीयाबाट टेस्टट्युब बच्चा

blog

काठमाडौँ, मङ्सिर ७ गते ।  ५५ वर्षीया महिलाले टेस्टट्युब पद्धतिबाट बच्चा पाउनुभएको छ। ललितपुरकी ५५ वर्षीया महिला विमला रजकले नर्भिक आईभीएफ सेन्टरमा स्वस्थ सन्तानलाई जन्म दिनुभएको हो। 

शल्यक्रियामार्फत शनिबार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ। 

“बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ,” नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले भन्नुभयो, “तर पनि उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रूपमा आईभीएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौँ। यसमा हामी सबै खुसी छौँ।” 

“३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रूपमा अर्को सन्तान आउँदा खुसीको सीमा छैन,” विमलाले भन्नुभयो। 

नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पतीले पहिलो प्रयासमै आईभीएफ पद्धतिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिनुभयो। श्रीमतीको उमेर ५५ वर्ष र श्रीमान्को उमेर ६८ वर्षको छ। 

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा  आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आईभीएफ पद्धतिबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भए पनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताउनुभयो। 

यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया एक महिलाले आईभीएफ पद्धतिबाट जुम्ल्याह सन्तान जन्माउनुभएको थियो।