• १३ साउन २०८१, आइतबार

धनुषाका तीनवटामा एमाले र एकमा एकीकृत समाजवादीको अग्रता

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर ६ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनामा धनुषाको चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ बाहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारहरुले मतगणनाको सुरुवाती चरणदेखि अग्रस्थान लिएका हुन् ।

धनुषाको पछिल्लो मतपरिणामअनुसार पाँचदलीय गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । 

धनुषाको क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीको अग्रता कायम छ । कार्कीले २ हजार १५३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले १ हजार ९०६ मत ल्याउनुभएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादवले १ हजार ६२० मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १ हजार २९५ मत पाउनुभएको छ ।

धनुषा २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशङ्कर अरगरियाको अग्रता कायम छ । अरगरियाले ४ हजार १६६ मत प्राप्त गर्दा पाँचदलीय गठबन्धनको तर्फबट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले ३ हजार ३७१ मत ल्याउनुभएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गङ्गाराम यादव २ हजार २६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झाले १ हजार ७८७ मत मात्र पाउनुभएको छ । त्यस्तै, जनमत पार्टीका उम्मेदवार जयनारायण साहले १ हजार ५७४ मत प्राप्त गर्नुभएको छ ।

धनुषामा सबैभन्दा गणना सुरु भएको धनुषा–३ मा पनि नेकपा एमालेकी उम्मेदवार जुली महासेठ ६ हजार २४३ मत ल्याइ अग्रता कायम राख्नुभएको छ । यता पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पाटी नेपालका उम्मेदवार अनिलकुमार झा भने ४ हजार ४४३ मतले दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै, जनमत पार्टीका उम्मेदवार ई. शम्भुनाथ साहले एक हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।

धनुषा–४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठले ४७५ मतसहित सुरुवाती अग्रता बढाउनुभएको छ भने पाँचदलीय गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव ३९४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै, प्रदेश तर्फ धनुषा ३ को (१) मा कांग्रेसका उम्मेदवार रामसरोज यादवको अग्रता कायम छ । क्षेत्र २ को (क) एमालेका उम्मेदवार लक्ष्मण दासले अग्रता लिनुभएको निर्वाचन कार्यालयले जनाएको छ  ।