• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा मतगणना सुरु

blog

ताप्लेजुङमा सुरु भएको मतगणनाको दृश्य । तस्बिर – चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको करिब ४७ घण्टापछि मङ्गलबार अपराह्न ४ : २० बजेदेखि मतगणना सुरु भएको हो ।

मतगणनास्थल अर्थात् जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म सबै मतपेटिका समयमा सङ्कलन नभएका कारण ढिलागरी मतगणना सुरु भएको हो । जिल्लाको हिमाली दुर्गम क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला र घुन्सा तथा वडा ७ ओलाङ्चुङगोला र सोही वडाको याङ्मा मतदान केन्द्रको मतपेटिका ल्याइपु¥याउन ढिलो भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त चार ठाउँको मतपेटिका मङ्गलवार बिहान मात्र ल्याइएको थियो ।

उक्त चार ठाउँ अर्थात मतदान केन्द्रका मतपेटिका ढुवानी गर्नलाई हेलिकप्टरमार्फत ल्याउनेगरी सिफारिस गरिएको भए पनि सम्भव नभएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । हेलिकप्टर उपलब्ध नहुँदा मानव जनशक्तिमार्फत नै ढुवानी गर्नुपर्दा मतपेटिका सदरमुकाम ल्याउनलाई ढिलाइ भएको योङ्याले बताउनुभयो । 

जिल्लाको १२३ मतदान केन्द्रमध्ये ओलाङ्चुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाबाहेक बाँकी ११९ मतदान केन्द्रका मतपेटिका सोमबार बिहानसम्ममा सदरमुकाम ल्याइएको थियो । यता, जिल्लाको कुल मतदाता ८८ हजार २८५ रहेकोमा ४८ हजार ३५५ अर्थात् ५४.७७ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका छन् ।

ताप्लेजुङमा वाम लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी), नेकपा एमालेलगायत ११ दलले निर्वाचनमा सहभागिता जनाएका छन् ।