• ९ जेठ २०८१, बुधबार

विश्वकप विजेताले कति पाउनेछ ?

blog

फिफाले कतार विश्वकपका लागि पुरस्कार, प्रोत्साहन र अन्य विषयमा खर्च गर्ने रकम सार्वजनिक गरिसकेको छ। यस पटक कुल राशिमा २९ प्रतिशतले वृद्धि गरी फिफाले एक अर्ब अमेरिकी डलर पु-याएको छ। विश्वकपमा सहभागी ३२ टिमले प्राप्त गर्ने स्थानका आधारमा ४४ करोड डलर वितरण गरिने छ भने बाँकी रहेको ६६ करोड डलर फुटबल कम विकसित भएका राष्ट्रिय सङ्घहरू, क्लबहरूको हित तथा क्लबको बीमा र खेलाडी सुरक्षा योजनामा फिफाले खर्च गर्ने छ । 

यस हिसाबले वास्तविक पुरस्कार रकम ४४ करोड डलर मात्र हो, जुन सन् २०१८ को दाँजोमा चार करोड डलर बढी छ।   

१. विश्वकपको पुरस्कार – रकम ४४ करोड डलर।

२. तयारी सहयोग रकम – सात करोड डलर।

३. क्लब हित कार्यक्रम – ३१ करोड डलर।

४. क्लब सुरक्षा र बीमा शुल्क – २२ करोड डलर।

फिफाले यस विश्वकपमा टेलिभिजन र सञ्चार अधिकार प्रदानबाट साढे तीन अर्ब डलर, प्रायोजक र अन्य व्यावसायिक क्रियाकलापबाट दुई अर्ब चार करोड डलर तथा एक अर्ब १० करोड डलर टिकट बिक्री, अतिथि सत्कार कार्यक्रमबाट प्राप्त गर्ने छ। साथै लाइसेन्स शुल्कबाट थप ८९ करोड डलर गरी फिफाले कुल सात अर्ब ८९ करोड डलर आम्दानी गर्ने छ। 

यो सात अर्ब ८९ करोड डलरबाट फिफाले ५० करोड प्रशासनिक खर्च, करिब ५२ करोड डलर टेलिभिजन कार्यक्रम उत्पादन खर्च तथा विश्वकप आयोजनामा सहयोग गर्न ४५ करोड डलर खर्च बेहोर्ने छ। यसैगरी अर्को प्रतियोगिता आयोजना गर्न कतार फुटबल सङ्घलाई फिफाले १८ करोड डलर दिने छ।



विजेताले अन्त्यमा करिब चार करोड ७० लाख डलर लिएर जाने छ। यसैगरी समूह चरणमा नकआउट हुने टिमले विभिन्न शीर्षबाट गरी समग्रमा एक करोड पाँच लाख डलर प्राप्त गर्ने छ। 


गोल्डेन बल 


फिफा विश्वकपमा बेजोड खेल प्रदर्शन गर्ने खेलाडीलाई एडिडास गोल्डेन बल प्रदान गरिन्छ। सञ्चारकर्मीले चयन गरेको र फिफाको प्राविधिक कमिटीले तयार पारेको खेलाडीहरूको सूचीबाट विजेता खेलाडीको घोषणा गर्ने चलन छ। 

प्रत्येक विश्वकपमा एक जना असाधारण खेलाडी चयन गरिन्छ। सन् १९८२ देखि फिफा र एडिडासले बेजोड प्रदर्शन गर्ने खेलाडीलाई प्रतियोगिताको अन्त्यमा गोल्डेन बल प्रदान गर्ने प्रचलन सुरु गरेका हुन्। गोल्डेन बलको ट्रफीमा विजेता सबै खेलाडीको नाम र जितेको वर्ष अङ्कित गरिएको हुन्छ।

सेमिफाइनलपछि फिफाको प्राविधिक कमिटीले १० जना खेलाडी छनोट गर्छ र तेस्रो स्थानको खेल पहिले सञ्चारकर्मीले गोल्डेन, सिल्भर र ब्रोन्ज बल विजेताको छनोट गर्ने प्रावधान रहेको छ। फिफाले गोल्डेन बल ट्रफीलाई ज्युरिचमा रहेको आफ्नो भवनमा प्रदर्शनका लागि राखेको हुन्छ। 



गोल्डेन बुट 


विश्वकपमा दनादन गोल गरी फुटबलप्रेमीलाई रोमाञ्चित तुल्याउने र मन जित्ने सर्वाधिक गोलकर्तालाई गोल्डेन सु दिइने गरिन्छ। गोल्डेन सु अर्थात् सुनौलो जुत्ताको इतिहास विश्वकपको आरम्भसँगै जोडिएको छ। 

गोल्डेन सु जित्नेमा महान् खेलाडीहरू नै अगाडि छन्। फ्रान्सका जस्ट फोन्टेन र जर्मनीका गर्ड मुलरले गोल गर्नमा राखेको कीर्तिमान अझै अछुतो छ। फोन्टेनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेर राखेको कीर्तिमानलाई कसैले भङ्ग गर्न सकेको छैन।

त्यस्तै जर्मनीका ‘डर बम्बर’ मुलरले दुई विश्वकपमा कुल १४ गोल गरी राखेको कीर्तिमान कायम छ। जसमध्ये १० गोल उनले सन् १९७० को विश्वकपमा गरेका थिए।