• ९ जेठ २०८१, बुधबार

दुई उद्देश्यसहित सेनेगलविरुद्ध खेल्दै नेदरल्यान्ड्स

blog

दोहा, मङ्सिर ५ गते ।  विश्वकप २०२२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सोमबार सेनेगलसँग खेल्दा विश्वलाई दुई कुरा देखाउने प्रयास गर्नेछ। 

पहिलो सेनेगलविरुद्ध जित हात पारी आफू पनि ब्राजिल, अर्जेन्टिना र गत विजेता फ्रान्ससरह उपाधि दावेदार हो अनि पछिल्लो विश्वकपमा चयन हुन नसके पनि यस पटक युरोपको शीर्ष टिमका रूपमा कतार आएको हो भन्ने। पहिलो खेलअघि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुहुन्छ, “हामीसमक्ष विश्व च्याम्पियन बन्ने ठूलो अवसर छ। यस्तो दाबी गर्न प्रशिक्षकहरू डराउँछन् तर म दाबी गर्न सक्छु,”  उहाँ भन्नुहुन्छ। 

नेदरल्यान्ड्सले देखाउन खोज्ने अर्को विषय विश्वकप आयोजक राष्ट्रले मानव अधिकार हनन गरेको र समलिङ्गीप्रति घृणा विषयमा विरोध रहेको छ। समलिङ्गीप्रति घृणाको विरोधमा चालिएको ‘वन लभ’ ‘मुभमेन्ट’को नेतृत्व नेदरल्यान्ड्स फुटबल सङ्घले गरिरहेको छ। त्यसैले सेनेगलविरुद्ध खेल्दा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डिकले मुटु अङ्कित चित्र भएको आर्मब्यान्ड लगाएर खेल्ने अपेक्षा गरिएको छ। यसैगरी नेदरल्यान्ड्सका ७१ वर्षीय प्रशिक्षक भानलाई स्पष्ट वक्ता प्रशिक्षक हुनुहुन्छ। उहाँले कतारलाई विश्वकपको आयोजना दिइएकोमा सुरुदेखि नै विरोध गर्दै आउनुभएको छ। 

सन् १९७४, १९७८ र २०१० मा विश्वकपको फाइनल खेलेको नेदरल्यान्ड्स त्यस्तै अर्को गौरवतर्फ पाइला चाल्न सोमबार सेनेगलविरुद्ध भिड्दैछ। सेनेगलको टिम भने आफ्ना प्रमुख स्ट्राइकर साडियो माने चोटका कारण नखेल्ने भएपछि हल्लिएको छ। त्यसैले नेदरल्यान्ड्सलाई पहिलो खेलमा हल्का फाइदा छ। नेदरल्यान्ड्स अहिले १५ खेलदेखि अपराजित छ। नेदरल्यान्ड्सका स्ट्राइकर मेम्पिस डिपे मांसपेशीको खिचावबाट दुरुस्त भइसक्नुभएको छ। यद्यपि डिपेले पहिलो खेल खेल्ने सम्भावना कम छ।

सेनेगलका प्रशिक्षक एलिग सिजेसँग भने मानेको विकल्प छैन। माने सेनगल टिमको मुटु हुनुहुन्छ। गत नोभेम्बर ८ तारिखमा जर्मन लिगअन्तर्गत वेडर ब्रिमेनविरुद्धको खेलमा मानेलाई चोट लागेको थियो। सेनेगल अफ्रिकी च्याम्पियन हो। 

माने दुई पटक अफ्रिकाका वर्ष फुटबल घोषित भइसकेका खेलाडी हुनुहुन्छ। मानेकै निर्णायक पेनाल्टी गोलले सेनेगल अफ्रिकी च्याम्पियन बनेको थियो। यसैगरी मानेले नै प्लेअफमा पुनः पेनाल्टीमै निर्णायक गोल गरेपछि सेनेगल कतार विश्वकपका लागि चयन भएको थियो। एपी