• १३ असोज २०८१, आइतबार

हुम्लाको सरस्वती मावि मतदान केन्द्रमा मतदान कार्य स्थगित

blog

राजन रावत

हुम्ला, मङ्सिर ४ गते । सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो ।

सो मतदान केन्द्रका मतदान अधिकृत छत्रबहादुर शाहीले दुई पक्षबीच वारेसमा मत खसाल्ने विषयले विवाद भएपछि झडप भएको थियो । मतदान कार्य स्थगित भए पनि सुरु गर्ने विषयमा प्रयास भइरहेको बताइएको छ ।

नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच झडप भएपछि मतदान कार्य सुरु हुन सकेको छैन ।  मतदान कार्य भइरहेको समयमा एक जना मतदाताको  वारेसबाट मत खसाल्ने विषयमा विवाद भएको थियो । मतदान केन्द्रमा करिब तीन सय मत खसेपछि विवाद भएको थियो । 

मतदान कार्य सुचारु गर्नका लागि पहल भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । (क) र (ख) मतदान केन्द्र रहेको सो मतदान केन्द्रमा एक हजार ८१ मतदाता रहेका छन् । (क) मतदान केन्द्रमा ५३२ र (ख) मतदान केन्द्रमा ५४९ मतदाता रहेका छन् ।