• १३ साउन २०८१, आइतबार

कर कट्टी प्रणाली

blog

कर कट्टी मूल्य अभिवृद्धि कर (मूअक)को सबभन्दा महìवपूर्ण पक्ष हो; जसको आधारमा मूअकलाई सुधारिएको बिक्री करका रूपमा हेरिन्छ। यस करअन्तर्गत करदाताले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित खरिद तथा पैठारीमा तिरेको कर बिक्रीमा असुल गरेको करबाट कट्टी गर्न पाउँछ। यसले गर्दा करदाताको लगानीमा करको भार पर्दैन र कर आर्थिक दृष्टिकोणले सक्षम मानिन्छ। यसले गर्दा मूअकलाई आर्थिक समृद्धि उन्मुख करका रूपमा पनि हेरिन्छ र यो कर विश्वभर फैलिएको छ। नेपालले पनि मुलुकको विकास गर्न आवश्यक अत्यधिक राजस्व न्यूनतम लागतमा सङ्कलन गर्ने उद्देश्यले वि.सं. २०५४ मङ्सिर १ गते मूअक लागू गरेको थियो र हाल यो कर लागू भएको २५ वर्ष पुगेको छ। 

कर कट्टीको परिचय

मूअकअन्तर्गत करदाताले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवा आयात तथा खरिद गर्दा तिरेको कर आफूले कर लाग्ने वस्तु तथा सेवा बिक्री गर्दा उठाएको करबाट कट्टी गर्न सक्छ। यसरी कटाउन पाउने करमा कर लाग्ने कारोबारसँग सम्बन्धित सबै प्रकारको खरिद वा पैठारीमा तिरेको कर पर्छ। उदाहरणका लागि औद्योगिक उत्पादनको हकमा उद्योगले खरिद वा पैठारी गरेको कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, रासायनिक पदार्थ, मिल मेसिनरी, इक्विपमेन्ट आदिमा तिरेको कर पर्छ। 

यसैगरी उद्योग सञ्चालन गर्न आवश्यक सवारीसाधन, पार्टस पूर्जा, इन्धन, कम्प्युटर, प्रिन्टर, स्टेसनसरी, फर्निचर, दूरसञ्चार सेवालगायतका सबै किसिमका वस्तु तथा सेवाको पैठारी तथा खरिदमा तिरेको कर पनि कटाउन पाइन्छ। डिलर, थोक तथा खुद्रा विक्रेताले आफ्नो व्यापारको सन्दर्भमा पुनर्बिक्रीका लागि खरिद वा पैठारी गरेका वस्तुका साथै आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित सवारीसाधन, तिनका पार्टपूर्जा, इन्धन, कम्प्युटर, प्रिन्टर, स्टेसनसरी, फर्निचर, दूरसञ्चार सेवालगायतका सम्पूर्ण वस्तु तथा सेवामा तिरेको कर कटाउन पाउँछन्। 

आंशिक तथा पूर्ण रूपमा कर कट्टी गर्न नपाइने अवस्थाकर कट्टीसम्बन्धी केही अपवाद पनि छन्। उदाहरणका लागि व्यावसायिक वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुन सक्ने वस्तुमा तिरेको मूअक पूर्ण रूपमा कट्टी गर्न नपाउने वा आंशिक रूपमा मात्र कट्टी गर्न पाउने हुन सक्छ। उदाहरणका लागि अटोमोबाइल्समा तिरेको मूअकको ४० प्रतिशत मात्र कटाउन पाउने व्यवस्था छ। अर्कोतर्फ पेय पदार्थ, अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै– रक्सी, बियर, सवारीसाधनका लागि पेट्रोल र मनोरञ्जन खर्चका सन्दर्भमा तिरेको मूअक ती वस्तु तथा सेवाको आपूर्ति गर्ने कार्य नै मुख्य रूपमा भएमा बाहेक अन्य करदाताले ती वस्तुको खरिदमा तिरेको कर कटाउन पाउँदैनन्।

यदि मूअक तिरेर खरिद वा पैठारी गरिएको वस्तु वा सेवा पूर्ण रूपमा कर छुट भएको वस्तु वा सेवामा प्रयोग गरिएको छ भने त्यस्ता वस्तुको खरिद वा पैठारीमा तिरेको कर कट्टी गर्न पाइँदैन। अर्कोतर्फ यदि खरिद वा पैठारी गरिएको कुनै वस्तु वा सेवाको केही अंश मात्र कर लाग्ने कारोबारमा प्रयोग भएमा उक्त वस्तु वा सेवामा पहिले तिरेको कर कट्टी सो वस्तु वा सेवाको कर लाग्ने कारोबारमा प्रयोग भएको अंशमा मात्र कट्टी गर्न पाइने व्यवस्था छ। 

बढी कर कट्टी रकम

कहिलेकाहीँ बिक्रीमा असुल गरेको करभन्दा खरिद तथा पैठारीमा तिरेको कर बढी हुन सक्छ। यस्तो अवस्था सामान्यतया निकासीकर्ताको हकमा देखापर्छ। कारण निकासीमा मूअक शून्य दरले लाग्ने हुँदा निकासीमा लाग्ने करको रकम शून्य हुन्छ र निकासीसँग सम्बन्धित खरिद तथा पैठारीमा तिरेको बढी कर रकमको रूपमा रहन्छ। निकासीकर्ताबाहेक अन्यको हकमा पनि कहिलेकाहीँ खरिद तथा पैठारीमा तिरेको कर बिक्रीमा असुल गरेको करभन्दा बढी हुन सक्छ। उदाहरणका लागि कुनै नयाँ उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा विभिन्न वस्तु तथा सेवा खरिद/पैठारी गर्दा मूल्य अभिवृद्धि कर तिर्नुपर्छ भने उत्पादन तथा बिक्रीवितरण सुरु गरेको छैन भने त्यस्तो व्यवसायले बिक्रीमा कर असुल गरेको हुँदैन। 

कुनै व्यवसायले एकै पटक ठूलो मात्रामा सामान खरिद/पैठारी गरेर त्यस्तो सामानको ठूलो भाग स्टकमा राखेको अवस्थामा खरिद/पैठारीमा तिरेको कर बिक्रीमा असुल गरेको करभन्दा बढी हुन्छ। यसैगरी बिक्रीमा शून्य दर लागेको कारणले पनि बिक्रीमा असुल गरेको करभन्दा खरिद/पैठारीमा तिरेको कर बढी हुन सक्छ। यदि कुनै महिनामा करदाताले बिक्रीमा असुल गरेको करभन्दा निजको कारोबारसँग सम्बन्धित खरिद तथा पैठारीमा तिरेको कर बढी भएमा बढी भएजति रकम करदाताले मूअक ऐनअनुसार सो महिनासम्म बुझाउनुपर्ने कुनै रकम भए त्यसमा मिलान गर्न पाउँछ। त्यसरी मिलान गरेपछि बाँकी रहेको रकम करदाताले अर्को महिनामा बुझाउनुपर्ने करको रकममा मिलान गर्न सक्ने व्यवस्था छ। वि.सं. २०७५ सम्म लगातार छ महिनासम्म मिलान गरेर बाँकी रहेको रकम करदाताले एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्ने व्यवस्था थियो। 

यसरी बिक्रीमा असुल गरेको करभन्दा खरिद तथा पैठारीमा तिरेको कर बढी भएमा बढी भएको रकम पछिल्ला छ महिनासम्म बुझाउनुपर्ने करमा मिलान गर्न पाउने र सो समयसम्म मिलान हुन नसकेमा करदाताले एकमुष्ट फिर्ता माग गर्न सक्ने व्यवस्था करदाता तथा कर प्रसाशक दुवैका लागि केही हदसम्म लाभदायक थियो। कुनै कर अवधिमा बढी भएको कर कट्टी रकम करदाताको पछिल्लो महिनामा तिर्नुपर्ने कर दायित्वसँग मिलान हुने सम्भावना रहन्छ। यसरी पछिल्लो महिनाको कर दायित्वसँग बढी कर कट्टी रकम मिलान गर्न सकिने भएपछि करदाताले कर फिर्ताका लागि माग गर्नु परेन र कर प्रशासनले त्यसको प्रमाणीकरण गर्नु परेन। यसले कर फिर्ताको दुरुपयोग हुने र राजस्व चुहावट हुने सम्भावना घटाउँछ। 

कर कट्टी छ महिनासम्म अगाडि सार्ने व्यवस्थाअन्तर्गत कसैले कर फिर्ताको दुरुपयोग गर्ने हिसाबले लगातार छ महिनासम्म क्रेडिट विवरण दिएमा कर प्रशासनलाई त्यस्तो विवरण छानबिन गर्न सक्ने सम्भावना रहन्छ। अर्कोतर्फ कर फिर्ताका लागि माग गर्न नपरेमा त्यस्तो अवस्थामा करदाता र कर प्रशासनबीच मिलोमतो हुने र घुस लिनु दिनुपर्ने अवस्था नआउने हुन्छ। यदि करदाताको बढी कर कट्टी रकम लगातार छ महिनासम्म मिलान नभएमा फिर्ता माग्न सक्ने हुन्छ। 

तर यसरी बढी कर कट्टी रकम तुरुन्त फिर्ता माग गर्न‘को सट्टा लगातर छ महिनासम्म मिलान गर्ने गरी अगाडि सार्दै जानुपर्ने व्यवस्थाबाट करदातालाई नगद प्रवाहसम्बन्धी हानि हुन्छ, जुन मूअकको मर्मविपरीत छ। यसैले वि.सं. २०७६ मा बढी कर कट्टी रकम छ महिनासम्म अगाडि सार्नुको सट्टा चार महिनासम्म मिलान नभएमा फिर्ता माग गर्न सक्ने व्यवस्था गरिएको थियो; जुन सकारात्मक कदम भए पनि मूअकलाई यसको सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप बनाउन पर्याप्त थिएन। 

निकासीमा शून्य दरले कर लाग्ने हुँदा त्यस्तो करदाताको निकासीमा तिर्नुपर्ने कर दायित्व शून्य हुन्छ र भविष्यमा पनि निजले कर तिर्नुपर्ने सम्भावना कम हुन्छ। यसैले निकासीकर्ताको हकमा बिक्रीमा असुल गरेको करभन्दा खरिद तथा पैठारीमा तिरेको कर बढी भएमा सो रकम निकासीकर्ताले कर प्रशासनबाट तुरुन्त फिर्ता माग्ने व्यवस्था गरिएको छ। 

निष्कर्ष

मूअकअन्तर्गत करदाताले आफ्नो कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तु तथा सेवाको खरिद तथा पैठारीमा तिरेको कर बिक्रीमा सङ्कलन गरेको करबाट कटाउन पाउने र यदि बिक्रीमा असुल गरेको करभन्दा खरिद तथा पैठारीमा तिरेको कर बढी भएमा बढी भएको रकम सरकारबाट फिर्ता पाउने हुँदा यस करको भार लगानीमा पर्दैन तर नेपालमा निकासीकर्ताबाहेक अन्य करदाताको हकमा बढी भएको रकम करदातालाई तुरुन्त फिर्ता गर्न‘को सट्टा मूअक ऐनअनुसार सो महिनासम्म बुझाउनुपर्ने कुनै रकम भए त्यसमा मिलान गर्न पाउने र त्यसरी मिलान गरेपछि बाँकी रहेको रकम करदाताले लगातार आगामी चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम करदाताले एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्ने व्यवस्था छ।

मूअक लागू भएको २५ वर्ष भइसकेको सन्दर्भमा मूअकको सैद्धान्तिक अवधारणा र अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार बढी कर कट्टी रकम चार महिनासम्म मिलान हुन नसकेमा मात्र फिर्ता माग गर्न सकिने व्यवस्थाको सट्टा कुनै कर अवधिमा बढी भएको रकम पछिल्लो कर अवधिमा फिर्ता माग गर्न सकिने व्यवस्था गरिनुपर्छ। मूअकअन्तर्गत कर कट्टी र कर फिर्ता व्यवस्थाले गर्दा करको भार लगानीमा नपर्ने मात्र नभई यो कर दोहोरो तेहेरो लाग्ने अवस्था पनि रहँदैन। यसले गर्दा मूअकलाई समृद्धि उन्मुख कर प्रणाली भनिन्छ र यसको पूर्ण रूपमा फाइदा लिनका लागि यसको मर्मअनुरूप कर कट्टी तथा कर फिर्तासम्बन्धी उपयुक्त नीति तय गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।