विश्वमै क्षयरोगलाई एउटा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिइन्छ । विशेष गरी कम तथा अल्पविकसित देशमा यो रोगका दूरगामी सामाजिक, सांस्कृतिक र आर्थिक प्रभावले गर्दा दिगो मानवीय विकासका लक्ष्य हासिल गर्न कठिन हुँदै गएको छ । विश्वव्यापीकरण, आप्रवासन, सहरीकरण, जलवायु परिवर्तन, प्राकृतिक विपत् र कोभिड जस्ता महामारीले गर्दा स्वास्थ्य प्रणाली र समुदायलाई नराम्ररी असर पारेको छ । अहिलेको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरमै भएको बजेट कटौतीले पनि क्षयरोगलगायत अन्य स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न असजिलो भएको छ । यो परिदृश्यले अति कम विकसित देशमा गुणात्मक स्वास्थ्यसेवाको समतामूलक पहुँच सुनिश्चित गर्न अझै सकिएको छैन ।
नेपालमा सन् २०१८/१९ मा सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण नतिजा अनुसार अनुमानित ६८ हजार जना नयाँ क्षयरोगका बिरामी रहेको तथ्य सार्वजनिक भएको छ । क्षयरोगको यो उल्लेख्य भार र जनस्वास्थ्यको चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय क्षयरोग केन्द्रले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल फन्ड र अन्य संस्थाको प्राविधिक सहयोगमा क्षयरोगसम्बन्धी रोकथाम, निदान, उपचार र स्वास्थ्य सेवाका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । विगतको तुलनामा क्षयरोग नियन्त्रणका प्रयासमा उल्लेख्य प्रगति भए पनि यो कार्यक्रमको निरन्तरता र दिगोपन सुनिश्चित गर्न चुनौतीपूर्ण छ ।
सन् २०१८ को सेप्टेम्बरमा क्षयरोग निवारणका लागि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा क्षयरोगलाई मात्र जनस्वास्थ्यको विषय नभएर सामाजिक र राजनीतिक मुद्दाका रूपमा स्वीकार गरी सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्ने र क्षयरोग उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । क्षयरोग निवारणका लागि नेपालले पनि प्रतिबद्धता व्यक्त गर्दै रोकथाम र नियन्त्रणका प्रयास अघि बढेका छन् । खास गरी क्षयरोग मुक्त नेपालको महत्वाकाङ्क्षी अभियानलाई साकार बनाउन बहुक्षेत्रीय प्रयास अपरिहार्य छ । क्षयरोगको दिगो रोकथाम र नियन्त्रणमा पर्याप्त लगानी र संरचनागत सुधार अझै बढाउनुपर्ने छ । समुदायमा क्षयरोग पत्ता लगाई उपचारमा ल्याउन नसकेका बिरामी उल्लेख्य छन् । कतिपय अवस्थामा उनीहरूलाई समयमै निदान र उपचारको दायरामा ल्याउन सकिएको छैन ।
क्षयरोग अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धता र रणनीतिमा समुदाय र नागरिक समाजको अर्थपूर्ण सहभागिताको विषय महत्वपूर्ण मानिएको छ । किनकि उनीहरूको संलग्नताले जनकेन्द्रित स्वास्थ्यसेवा सुनिश्चित गर्न उल्लेख्य सहयोग गर्छ । नीतिगत रूपमा उल्लेख भए पनि यी प्रयास स्थानीय तहमा पर्याप्त र प्रभावकारी रूपमा कार्यान्वयनमा आइसकेका छैनन् । केही साझेदार संस्थाको सहयोगमा सञ्चालित समुदायस्तरका क्षयरोगसम्बन्धी कार्यक्रम र सेवा निश्चित भौगोलिक क्षेत्रमा सीमित रहेकाले अहिलेको राष्ट्रिय आवश्यकतालाई समग्रतामा सम्बोधन गर्न अझै सकिएको छैन । उत्थानशील स्वास्थ्य र समुदाय प्रणाली सुदृढ नभएसम्म नागरिक समाजले स्थानीय तहमा क्षयरोगसम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, निर्णय प्रक्रिया र अनुगमनमा अर्थपूर्ण योगदान दिन सक्दैनन् । स्थानीय तहमा आवश्यकताको पहिचान र प्राथमिकताको छनोटमा समुदायको भूमिका र सहभागिता अपरिहार्य हुन्छ । यो प्रक्रियाले क्षयरोगी, उनीहरूको परिवार र समुदायको सशक्तीकरणमा उल्लेख्य सहयोग गर्छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी, बैठक र समीक्षा कार्यक्रममा समुदायको प्रतिनिधित्व र अर्थपूर्ण संलग्नताको विषयमा धेरै चर्चा भए पनि यथार्थमा कार्यान्वयन पक्ष अझै पनि कमजोर देखिन्छ । यसलाई सर्वव्यापी पहुँच र दिगो विकास लक्ष्यसँग जोडेर हेर्दा राष्ट्रिय क्षयरोग कार्यक्रमले नागरिक समाज र समुदायको प्रतिनिधित्व र संलग्नता सुदृढ गर्न एउटा निर्दिष्ट खाका र मार्गचित्र बनाउन पर्छ । क्षयरोगमा उल्लेख्य रूपमा सहयोग गर्ने ग्लोबल फन्ड र विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाले केही प्राविधिक निर्देशिका कार्यान्वयनमा ल्याएका छन् । यसको संस्थागत दिगोपना, राष्ट्रिय अपनत्व र क्षमता अभिवृद्धिका लागि केही प्रयास भए पनि पर्याप्त छैनन् । अझै महत्वपूर्ण सवाल भनेको एकीकृत, जनकेन्द्रित, समुदायमा आधारित र लैङ्गिकमैत्री स्वास्थ्यसेवाको सुनिश्चितले क्षयरोगीको उपचारमा उल्लेख्य पहुँच बढाउन सकिन्छ ।
समुदायको संलग्नतालाई मापन गर्ने पर्याप्त सूचक स्वास्थ्य सूचना प्रणालीमा एकीकृत गर्ने पद्धति अझै प्रभावकारी भएको छैन । यो अवस्था आउनुमा समुदाय संलग्नताका लागि दिगो प्रणालीगत अवधारणाको अभाव, समुदाय प्रणाली सुदृढीकरणमा सीमित लगानी, नागरिक समाजको कमजोर संस्थागत र व्यवस्थापकीय क्षमता प्रमुख चुनौती हुन् ।
समुदायलाई नै केन्द्रमा राखेर सञ्चालित क्षयरोग कार्यक्रम प्रभावकारी हुन सक्छ । किनकि समुदायले नै स्वास्थ्य प्रणाली र क्षयरोगबाट प्रभावित व्यक्ति र परिवारका बिचको खाडललाई जोड्न सक्छ । समुदाय नै स्थानीय क्षयरोग कार्यक्रमका महत्वपूर्ण साझेदार हुन्, जसले क्षयरोगीका लागि दिगो रणनीति योजना तर्जुमा, स्रोत परिचालन, पैरवी, सहभागितामूलक समीक्षा र अनुगमन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
समुदायकै नेतृत्वमा सञ्चालित क्षयरोग कार्यक्रम र सेवाले स्थानीय ऐतिहासिक, सामाजिक परिवेश, संस्कृति र अभ्यासलाई महत्व दिन्छन् । यी अभ्यासबाट क्षयरोगविरुद्ध लड्न स्थानीय ज्ञान, सिप र शक्तिको निर्माण हुन्छ । यसले क्षयरोग अन्त्य गर्ने रूपान्तरणकारी रणनीति मात्रै होइन, समुदायको सशक्तीकरणको ढोका पनि खोल्छ । यसका लागि समुदायमा सरोकारवालाको सहभागितामूलक नक्साङ्कन, प्राथमिकता पहिचान, भौगोलिक क्षेत्र र स्रोतको अवस्थालाई ध्यान दिँदै सूचना र स्रोत परिचालनका लागि संयुक्त प्रयास अगाडि बढाउन सकिन्छ ।
क्षयरोग गरिबीसँग नजिकबाट जोडिएको छ । सामाजिक रोगका रूपमा पनि लिइन्छ । यसले मूलतः सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सीमान्तकृत समुदायको स्वास्थ्यमा पहुँच बढाउन सकेको छैन । उच्च जोखिममा रहेका व्यक्ति वा समुदायको अझै पनि क्षयरोग, निदान, उपचार सेवामा सहज पहुँच छैन । क्षयरोगको ऐतिहासिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक निर्धारकलाई सम्बोधन गर्न जरुरी छ । अझै महत्वपूर्ण कुरा त समुदायले क्षयरोगलाई कसरी बुझ्छन्, अनुभव गर्छन् र दैनिक जीवनमा यसको अर्थ कसरी लगाउँछन् भन्ने कुरालाई राम्ररी विश्लेषण गर्न मानवशास्त्रीय दृष्टिकोणले सघाउँछ । क्षयरोगलाई सामाजिक असमानताको दृष्टिकोणबाट बुझ्न जरुरी छ । क्षयरोगलाई कसरी सामाजिक, सांस्कृतिक र आर्थिक पक्षले प्रभाव पार्छन् भन्ने विषयमा गहिरो अध्ययन र विश्लेषण गर्न सकिन्छ । यसरी अधिकारमा आधारित क्षयरोग कार्यक्रमका लागि क्षयरोग र समाजबिचको सम्बन्ध, नीतिगत र कानुनी प्रावधान र स्थानीय सामाजिक संरक्षणका प्रयासको समीक्षा गर्न आवश्यक छ ।
क्षयरोगसम्बन्धी सामाजिक विभेद र लाञ्छना विभिन्न तहमा अनुभव गरिएको हुन्छ । पहिलो क्षयरोग प्रभावित व्यक्ति आफैँले अनुभव गर्ने, त्यसपछि परिवार, स्वास्थ्यकर्मी र कार्यस्थलबाट पनि विभेद हुन्छ । अहिलेसम्म केही अध्ययन भए पनि राष्ट्रिय रूपमा विस्तृत अनुसन्धान हुन सकेको छैन, जसले गर्दा क्षयरोगसँग सम्बन्धित विभेद र लाञ्छनाले फरक उमेर, लिङ्ग, जात र विभिन्न सामाजिक समूहमा पार्ने प्रभावसम्बन्धी पर्याप्त तथ्य र प्रमाण छैनन् । यी प्रमाणको अभावमा समुदायस्तरमा सञ्चालित कार्यक्रमको प्रभावकारिता बढाउन सकिँदैन ।
क्षयरोग अन्त्यका लागि सामाजिक परिचालन एउटा महìवपूर्ण रणनीति हो । यो सन्दर्भमा क्षयरोगमुक्त अभियानका लागि महिला समूह, स्थानीय सङ्घ संस्था, क्लब, सामुदायिक सङ्गठन र निजी क्षेत्रका स्वास्थ्यप्रदायक संस्थालाई परिचालन गर्न सकेमा स्क्रिनिङ क्याम्प सञ्चालन, सक्रिय क्षयरोगको खोज पडताल र सम्भावित रोगीको उपचारका लागि स्वास्थ्य संस्थामा प्रेषण गर्न सजिलो हुन्छ । क्षयरोगसँगै जोडिएका कुपोषण, मधुमेह, मानसिक स्वास्थ्य जस्ता समस्या उत्तिकै गम्भीर छन् । स्थानीय तहमा सामाजिक संरक्षणको कभरेज पनि न्यून देखिन्छ ।
अन्त्यमा क्षयरोग नियन्त्रणका लागि पर्याप्त स्रोत परिचालन गर्न र क्षयरोगमुक्त अभियान सफल बनाउन राजनीतिक नेतृत्व र प्रतिबद्धता आवश्यक हुन्छ । स्थानीय तहको क्षमता अभिवृद्धि, सूक्ष्म योजना, समुदाय र नागरिक समाजको सहभागिताले नै राष्ट्रिय क्षयरोग रणनीतिको स्थानीयकरण प्रभावकारी हुन्छ । क्षयरोगको सामाजिक निर्धारकलाई सम्बोधन गर्न बहुक्षेत्रीय समन्वय र सहकार्य बढाउनुपर्ने देखिन्छ । क्षयरोगलाई सामाजिक संरक्षण र गरिबी निवारणका कार्यक्रमसँगै स्थानीय विकासमा मूलप्रवाहीकरण गर्न सकेमा रोकथाम र उपचार सेवामा उल्लेख्य प्रगति हासिल गर्न सकिन्छ । यसरी बहुक्षेत्रीय प्रयासबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य पूरा गर्न सामाजिक जवाफदेहिता बढाउन जरुरी छ ।