• १३ असोज २०८१, आइतबार

श्रमिकमा मतदानको उत्साह

blog

लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर ४ गते । देशभरका १२ हजार निर्माण आयोजनामा काम गरिरहेका झन्डै १५ लाख कामदारमध्ये अधिकांश मतदान गर्न घर फर्किएका छन् । निर्वाचनको एकहप्ता अघिदेखि नै मजदुर घर फर्किएको निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

मजदुरहरू मतदान गर्न गएपछि अधिकांश निर्माण आयोजनाको काम प्रभावित भएको छ । आयोजना स्थलभन्दा जिल्लाबाहिरका मजदुहरू बढी भएकाले चाँडै नै बिदा दिनुपर्ने महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण आयोजनामा देशभर १५ लाखको हाराहारीमा मजदुर हुनुहुन्छ । चुनावमा जाने भनेपछि रोक्ने कुरै भएन, एकहप्ता अघि र चुनावपछि पनि १०/१२ दिन फर्किन लाग्छ नै अहिले निर्माणका काम रोकिएका छन् ।”

चुनावको अन्तिम परिणाम नआएसम्म मजदुरहरू काममा फर्किन गारो हुने दाहालको भनाइ छ । अनौपचारिक क्षेत्र भएकाले पनि एकै समयमा मजदुर आउने सम्भावना नरहेको उहाँको दाबी छ भन्नुभुयो, “मतदानको अधिकारलाई कसैले कसैलाई रोक्न सक्दैन, यो राष्ट्रिय उत्सव र देशको भाग्य निर्माण गर्ने अवसर हो दुई चार दिन काम रोकिनु ठूलो कुरा होइन ।”

त्यस्तै सार्वजनिक यातायात क्षेत्रका मजदुहरू पनि मतदान गर्न घरघर पुगेका छन् । मतदानको दिन सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भएकाले पनि यातायात मजदुरलाई मतदान गर्न सजिलो भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । मजदुरहरू आफ्नो रुटअनुसार शनिबार नै घर फर्किएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

सिटौलाका अनुसार सार्वजनिक यातायातका मजदुरहरू रुटअनुसार घरपायक पर्ने भएकाले पनि सहज छ । सार्वजनिक यातायात क्षेत्रमा झन्डै ११ लाख मजदुर छन् । करिब चार लाख स्वरोजगार छन् । मतदान गर्ने इच्छाभएका मजदुरलाई नरोकिएको सिटौलाको भनाइ छ ।