चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर ३ गते । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने युवा उत्साहित देखिएका छन् । घोडाघोडी नगरपालिका –४ माघीका १८ वर्षीय सञ्जय चौधरीले आइतबार पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।
स्नातक तह प्रथम वर्षमा अध्ययनरत चौधरीले पहिलो पटक मतदान गर्नुहुँदा मनमा कौतुहलता बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘देशको विकास गर्ने नेता चुन्दैछौं, कसैको करकापमा नपरी युवाको पक्षमा काम गर्ने राम्रो भिजन भएको उम्मेदवारलाई भोट हाल्न म आतुर छु ।’
सञ्जय मात्र होइन घोडाघोडी –८, दिपनगरका दिपा थापाले समेत पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । परिवारसहित लामोसमय रोजगारीका लागि भारत बस्दै आउनुभएकी दिपाले यसभन्दा अघिका निर्वाचनमा मतदान गर्न पाउनु भएको थिएन । अहिले मतदानकै लागि भनेर केही समय नेपाल आउनुभएका दिपा मतदान गर्न उत्साहित देखिनुभएको छ । श्रीमान्, सासू, ससुरा र आफू परिवारमा रहेको बताउने दिपाले कसैको करकापले नभई आफ्नो इच्छाले मतदान गर्ने बताउनुभयो ।
दिपाले भन्नुभयो, ‘म पार्टी हेर्दिन, हाम्रो समस्या बुझ्ने, देशमै रोजगारी सिर्जना गर्ने, सबैको भावना बन्ने उम्मेदवारलाई भोट दिन्छु ।’ आइतबार दिपा र सञ्जयजस्तै धेरै युवाहरू पहिलो पटक मतदान गर्ने युवाहरू उत्साहित भएका हुन् । यता निर्वाचन कार्यालयले आइतबार बिहान तोकिएकै समयमा मतदान गर्नेगरी सबै व्यवस्था मिलाएको बताइएको छ ।
कैलाली क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले तोकिएको समय बिहान ७ बजेबाट मतदान गर्ने व्यवस्था सबै मतदान स्थलमा तयारी पूरा भएको बताउनुभयो । तीन सुरक्षा घेराभित्र रहेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । क्षेत्र ३ को सुरक्षा व्यवस्थाको समन्वय गरिरहनु भएका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण शाहीले पहिलो घेरामा म्यादी, जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
कैलालीको विभिन्न क्षेत्रका मतदानस्थलको राष्ट्रिय मानव अधिकार आयोग, जिल्लाका सुरक्षा प्रमुखहरूले अनुगमन गरेका छन् । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रमुख निर्वाचन अधिकृत, सुरक्षा प्रमुखसहितको टोली पुगेको बताउँदै सबै ठाउँमा तयारी पूरा भएको बताउनुभयो । सीमा नाकामा सुरक्षाकर्मी तैनाथदेखि चुस्त दुरुस्त निर्वाचन सम्पन्न गराउन आवश्यकताअनुसार सुरक्षा टोली तैनाथ गरिएको समेत प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।