• १३ असोज २०८१, आइतबार

मर्यादा विपरीत कार्य गर्ने मतदान अधिकृत पदमुक्त

blog

मतदान स्थलमा अनुगमन गर्दै सुरक्षाकर्मीसहितको टोली। तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, मङ्सिर ३ गते। कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।

निर्वाचन अधिकृतको कार्यालय, चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो।  पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो। 

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनुसार अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतको जिम्मेवारीबाट पदमुक्त गरिएको बताउनुभयो। 

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्देशिका २०७९ दफा ८३ (१) बमोजिम पन्थीलाई पदमुक्त गरिएको उहाँले बताउनुभयो। उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत मरासिनीले बताउनुभयो।

निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी कार्यका लागि खटाइएका मतदान अधिकृत लगायतका सम्पूर्ण कर्मचारीलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्वाचन अधिकृत मरासिनीले निर्देशनसमेत दिनुभएको छ। कसैले मर्यादा विपरीत कार्य गरेको पाइए निर्वाचन कानुन बमोजिम कारबाही गरिने उहाँको भनाइ छ।