लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर ३ गते । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रमा बुथ निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो ।
सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवक मिलेर मतदान केन्द्रमा बुथ निर्माण गरिएको उहाँले बताउनुभयो । मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम भएको उहाँको भनाइ छ ।
नौ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिका –१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलङ्गामै हुने भएको छ ।
जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्न मतदान अधिकृत १४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार १२८ कर्मचारी र स्वयंसेवक ५२७ गरी कुल एक हजार ६५५ जना खटाइएका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । जिल्लाभरी ५२८ नेपाल प्रहरी, ८२७ म्यादी प्रहरीसहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
मतदान सम्पन्न भएपश्चात् आइतबार बेलुकी मतपेटिका सदरमुकाम खलङ्गा ढुवानी गर्ने तयारी गरिएको छ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीका लागि बसको व्यवस्था गरिएको उपाध्यायले बताउनुभयो । यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका सङ्कलन गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो ।
मतपेटिका सङ्कलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलङ्गास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ । मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । दार्चुलामा प्रत्यक्षतर्फ प्रदेशसभामा ९ र प्रतिनिधिसभामा ९ गरी १८ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) को तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेसनल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी उम्मेदवार रहनुभएको छ ।
त्यस्तै, सङ्घीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभा क्षेत्र १ (क) मा एमालेबाट हरदेब जोशी, गठबन्धनबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र सङ्घीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी परेको छ ।
प्रदेशसभा क्षेत्र २ मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र सङ्घीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी रहेको छ ।
केन्द्रमा कर्मचारी महिला मात्रै
दार्चुलाका दुई वटा मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि भोलि मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्लाका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको मुख्य निर्वाचन अधिकृत एवं दार्चुला जिल्ला न्यायाधीश खेमराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला सदरमुकाम खलङ्गास्थित अपिनाम्पा संरक्षण क्षेत्रको (क) र (ख) केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएका छन् । अपिनाम्पाको (क) केन्द्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र अपिनाम्पाकै (ख) केन्द्रमा घरेलु कार्यालयका प्रमुख गङ्गा मगरलाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।
प्रतीक्षामा मतदाता
स्थिर समय सुरु भएसँगै चुनावी प्रचारप्रसारको चहलपहल बन्द भएको छ । सभा सम्मेलन र औपचारिक कार्यक्रम बन्द भए पनि कतिपय उम्मेदवार र नेता कार्यकर्ता भने गाउँगाउँ पुगेर मत मागिरहेका छन् । मतदाताहरू मतदानको व्यग्र प्रतीक्षामा रहेको बताएका छन् । आफूहरू मतदानका लागि आतुर भएको स्थानीयको भनाइ छ ।
भारतसित सीमा जोडिएका दार्चुलाका लाली, जोलजिवी, बाकु, दत्तु, पुलघाट खलङ्गा, तिगरम, बडूगाउँ, मलघट्टे, माल र सीतापुल नाका मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि सिल गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका जिल्लाको नाकाहरू मङ्सिर १ गते राति १२ बजेदेखि ३ दिनका लागि बन्द गरिएको छ । भारतबाट घुसपैठ हुनसक्ने भन्दै सीमावर्ती गाउँहरूमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।