शेरबहादुर सार्की
बााजुरा, चैत १० गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य जनकराज गिरी निर्वाचित हुनुभएको छ । उहाँ १७ हजार १७३ मतसहित विजयी हुनुभएको हो । उमेरले ६० वसन्त पार गर्दै गर्नुभएका गिरीले साढे दुई दशकपछि पुनः जनप्रतिनिधि हुने अवसर प्राप्त गर्नुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का लालबहादुर थापालाई ५४० मतले पराजित गर्नुभएको थियो ।
उहाँ २०५६ सालको आमनिर्वाचनमा यस क्षेत्रबाट जनप्रतिनिधिका रूपमा विजयी हुनुभएको थियो । बाजुराको हालको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ४ मा विसं २०२२ मङ्सिर १५ गते आमा भद्रा गिरीको कोखबाट जन्मनुभएका गिरीले स्नातकोत्तर तहसम्मको अध्यय गर्नुभएको छ ।
कैलालीमा नै रहेर अध्ययन गर्ने क्रममा नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएका गिरी २०४८ सालमा झापामा भएको नेपाली कांग्रेसको आठौँ महाधिवेशनमा पहिलो पटक महासमिति सदस्य हुनुभएको थियो । गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । २०५६ सालमा भूमिसुधार सहायक राज्यमन्त्रीसमेत बन्नुभएका गिरीले खाद्यान्न, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीलगायतका विकासका काममा पहल गर्दै आउनुभएको छ ।
उहाँले आफूले खाद्यान्न कार्यक्रमको क्षेत्रमा पनि उल्लेखनीय काम गरेको दाबी गर्नुभयो । उहाँ भन्नुहुन्छ, “कोल्टीलगायतका विभिन्न ठाउँमा कामका लागि खाद्यान्न कार्यक्रम जस्ता परियोजना ल्याउन विगतमा मैले पहल गरेँ ।” उहाँले विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर बाजुराका २३ खोलानालाबाट विद्युत् उत्पादन गरेर अँध्यारो बाजुरालाई उज्यालो बनाउन पहल गरेको पनि बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोल्टी, मार्तडी, टाँटे र डोगडीमा सिडिएम टेलिफोन सेवा विस्तार गर्न पनि मैले निकै पहल गरेँ ।”
बाजुराका हरेक जस्तो विकासका काममा जोडिनुभएका गिरीकै पहलमा कर्णाली कोरिडोर सडक आयोजनालाई लैफुदेखि हुम्लाको सिमानासम्म विस्तार भएको छ ।
उहाँकै योजनामा कर्णाली नदीबाट लिप्टद्वारा पानी तानेर सिँचाइ गर्ने योजना पनि सफल भएको स्थानीय कार्यकर्ता बताउँछन् ।
गिरी भन्नुहुन्छ, “बाजुरा जस्तो दुर्गम भूगोलमा अझै धेरै काम गर्न बाँकी छ । अब विद्युत्को राष्ट्रिय प्रसारण लाइनलाई बाजुराका विभिन्न स्थान पुर्याउने मेरो पहिलो प्राथमिकता हो ।” उहाँले भन्नुहुन्छ, “अझै पनि बाजुराका कतिपय ठाउँमा इन्टरनेटको राम्रो सुविधा छैन । त्यसैले टेलिफोनको टावर विस्तार गरी जनतालाई इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य लिएको छुँ ।”
माटो परीक्षण गरी तरकारी र फलफूल खेतीलाई प्राथमिकतामा राखेर यहाँको जडीबुटीलाई भण्डारण तथा प्रशोधन गर्दै बजारीकरण गर्ने गिरीको अर्को योजना छ ।
उहाँ बाजुराको विकासका लागि गौमूलको मानाकोट दहकोटमा रहेको फलामखानी परीक्षण गरेर सम्भव देखिए उत्खननमा लाग्नुपर्ने र सर्भे भइसकेको मुगु कर्णालीमा एक हजार ९०२ वाटको विद्युत् उत्पादनका लागि पहल थाल्न पनि आफूले विशेष जोड गर्ने बताउनुभयो ।
खप्तड, बुढीनन्दा र बडीमालिकालगायतका पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माण गरेर बाह्य पर्यटक भित्र्याउने र बाजुराका हरेक गाउँबस्तीमा पुगेका सडकलाई स्तरोन्नति गर्नका लागि पनि आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । गिरीले कोल्टी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अछामको बयालपाटा अस्पताल जस्तै बनाउने आफ्नो परिकल्पना रहेको पनि बताउनुभयो ।