• १३ साउन २०८१, आइतबार

विवाह पञ्चमीको तयारी तीव्र

blog

विवाह पञ्चमीका लागि तयारी गरिँदै जानकी मन्दिर । तस्बिर: गोरखापत्र

विवाह पञ्चमी सप्ताहव्यापी रूपमा मनाइँदै 
जनकपुरधाम, मङ्सिर ३ गते । त्रेता युगमा सीता र रामबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको हो । 

यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म सप्ताहव्यापी विधिवत् धूमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी भव्य रुपमा मनाउने उद्देश्यका साथ तीव्र रूपले तयारी भइरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । 
विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्सिर  ७ गते नगर दर्शन, दोस्रो दिन मङ्सिर ८ गते फूलबारी लीला, मङ्सिर ९ गते धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते तीलकोत्सव, मङ्सिर ११ गते मटकोर र मङ्सिर १२ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ र सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते रामकलेवा गरी जन्ती बिदाइ गरेपछि विवाह पञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने सहायक महन्थ दासले बताउनुभयो ।

यसै गरी विवाह पञ्चमी महोत्सवमा यस पटक भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने समेत जानकारी उहाँले दिनुभयो ।

प्रमुख अतिथिको रूपमा भारतबाट रामको डोलासहित भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री  सतपादजी मङ्सिर ११ र १२ गतेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउने सहायक महन्थ दासले बताउनुभयो । सतपाल महराज लगायत अयोध्याबाट हजारौँ साधु सन्त जन्तीको रूपमा यस वर्ष पनि सहभागी हुन जनकपुरधाम आउने तयारी रहेको सह महन्थ दासको भनाइ छ । 

यसै गरी जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले संयुक्त रूपमा विवाह पञ्चमी लक्षित जनकपुरधामस्थित रंगभूमि मैदान (बाह्र बिघा) सरसफाइ कार्यलाई समेत तीव्र रूपले अघि बढाएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । यसपालि विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आउने श्रद्धालुहरू बस्नका पण्डालको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो । साथै डाक्टरसहितको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन र एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो । विवाहपञ्चमीलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले जानकी मन्दिर परिसर सरसफाइका लागि छुट्टै ट्र्याक्टरको व्यवस्था गरेको नगर प्रमुख साहले जानकारी दिनुभयो । 

यस्तै बृहत्तरले विवाह पञ्चमी लक्षित अहिले उपमहानगरपालिकाले उपलब्ध गराएको जेसीबी र बृहत्तरको ट्र्याक्टरले बाह्र बिघामा भएको फोहोर सङ्कलन गरी सरसफाइ कार्यलाई तीव्रता दिइँदै छ । साथै सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवका बेला खानेपानी, बिजुली बत्ती र शौचालयको व्यवस्था समेत गर्ने र्छौं, बृहत्तरका अध्यक्ष शीतल साहले बताउनुभयो । 

विवाह पञ्चमी लक्षित उपमहानगरपालिका र बृहत्तरको सहकार्यमा शनिबार बिहान वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेको अध्यक्ष साहले बताउनुभयो ।  
Author

लक्ष्मी चौधरी