• १३ असोज २०८१, आइतबार

सेनाद्वारा निर्वाचन लक्षित गस्ती सुरु

blog

निर्वाचनलाई लक्षित गरी राजधानीका विभिन्न स्थानमा गस्ती गर्दै नेपाली सेना । तस्बिर : विकास द्वारे

काठमाडौं, मङ्सिर २ गते । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले गस्ती सुरु गरेको छ । निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले राजधानीका विभिन्न स्थानमा बिहीबारदेखि गस्ती गरेको हो ।  

निर्वाचनका लागि देशभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी दुई लाख ९८ हजार ४७९ जना  सुरक्षाकर्मी परिचालन गरिएको छ ।


निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, एक हजार ८२१ राष्ट्रिय अनुसन्धान विभाग र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ ।

यता, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको समेत प्रबन्ध गरिएको बताउनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जानकारी दिनुभयो ।


त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको जानकारी दिनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकारसम्पन्न घुम्ती टोली परिचालन गरिने बताउनुभयो ।