• १३ असोज २०८१, आइतबार

निर्वाचन पर्यवेक्षण गरिने

blog

काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र राष्ट्रिय व्यावसायिक पहलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन् । दुवै संस्थाले छुट्टाछुट्टै विज्ञप्तिमार्फत आसन्न निर्वाचनमा पर्यवेक्षण गर्ने जनाएका छन् । राष्ट्रिय व्यावसायिक पहलले २०७० सालको संविधान सभा निर्वाचनदेखि नै निरन्तर रूपमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ । निर्वाचन आयोगबाट आसन्न मङ्सिर ४ गतेको निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको छ । 

पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न २५ जिल्लामा १२० जना पर्यवेक्षक परिचालन गरी निर्वाचन पर्यवेक्षण गर्न लागेको जानकारी दिनुभयो । पहलले खटाएका पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता तथा निर्वाचन पर्यवेक्षण निर्देशिकासम्बन्धी अभिमुखीकरण गरिसकेको छ । 

त्यस्तै नियोका अध्यक्ष कपिल श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा आसन्न निर्वाचनमा ७७ वटा नै जिल्लाको पर्यवेक्षण गरिने उल्लेख छ । विज्ञप्तिमा निर्वाचन प्रक्रियालाई विश्वसनीय र थप वैज्ञानिक बनाउन ती जिल्लामा तालिमप्राप्त दीर्घकालीन पर्यवेक्षक खटाएको उल्लेख गरिएको छ । दीर्घकालीन पर्यवेक्षकबाट निर्वाचन आयोगको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाचन हिंसा र सुुरक्षाको विषयमा नेपालमै पहिलो पटक एपोलो द्रुत रिपोर्टिङ प्रणालीको प्रयोग गरेर हरेक जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको विज्ञप्तिमा जनाइएको छ ।