• १३ असोज २०८१, आइतबार

नेपाल आज पाकिस्तानसँग भिड्दै

blog

मैत्रीपूर्ण खेलका लागि तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौं, कात्तिक ३० गते । नेपालले आज (बुधबार) दशरथ रङ्गशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले जित्ने दाबी गरेका छन् । नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभयो ।

यसैगरी पाकिस्तानका प्रशिक्षक शहजाद अनवरले तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानका लागि नेपालसँगको खेल महत्वपूर्ण भएको बताउनुभयो । उहाँले  विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धले अन्तर्राष्ट्रिय खेल रोकिएपनि खेलाडीले घरेलु प्रतियोगिता खेलिरहेकोले नेपालसँगको खेलमा जितका लागि उत्रने बताउनुभयो । टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेकोले नेपालसँग उत्कृष्ट खेल्ने पनि बताउनुभयो ।

नेपाली टोलीका कप्तान रोहित चन्दले नेपाल र पाकिस्तानबीचको खेल सधैँ ‘टप’ हुने बताउनुभयो । ‘‘पाकिस्तान बलियो टोली हो । प्रतिबन्ध भए पनि पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेका छन् । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं । नतिजाबारे यसै भन्न सकिन्न,’’ खेलअघि मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा चन्दले भन्नुभयो ।

दशरथ रङ्गशालामा बुधबार हुने खेल नेपालका लागि ५०औँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले दशरथ रङ्गशालामा पहिलो पटक सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । नेपालले सागको पहिलो खेलमा मालदिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।