• १३ साउन २०८१, आइतबार

किशनलालकी धर्मपत्नी ताराको निधन

blog

किशनलालको तस्बिरसँगै तारा लेखक

गोकर्ण दयाल

 बैतडी, कात्तिक २८ गते । वि सं. २०१८ मा बैतडी सदरमुकाममा खानेपानी पुर्‍याउनु हुने पूर्व सांसद किशनलाल लेखककी धर्म पत्नी तारा लेखकको ७६ वर्षको उमेरमा निधन भएको छ ।

किशनलालले बैतडी सदरमुकाममा खानेपानी पुर्‍याए पनि उहाँको घरमा भने दुई वर्षअघि मात्रै (५९ वर्षपछि) खानेपानीको धारा जडान भएको थियो ।

२०१२ सालमा नेपाली काँग्रेसका नेता बीपी कोराईरालासँगै  सङ्गठन निर्माणमा लाग्नु भएका  किशनलाल लेखक २०१५ सालमा नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँकी धर्मपत्नी तारा लेखकको निधनपछि बैतडीको मल्लीआईत शोकमा डुबेको उहाँका भतिजा केशव लेखकले बताउनुभयो ।

तारा लेखकले श्रीमानको सम्झनामा बैतडी आँखा अस्पताललाई घरको सबै जग्गा दान गरेर आँखा अस्पताल निर्माण भएको हेर्न चाहना राख्नु भएको थियो । बीपी कोइराला बैतडी आउँदा किशनलालले सङ्गठन बिस्तार गरेको अभिलेख गोरखापत्रले गत दुई वर्षअघि फेला पारेको थियो । भूमिगत राजनीति गर्दा तारा लेखकले समेत थुप्रै हण्डर सहेर नेता कार्यकर्तालाई लुकीछिपी खाना खुवाउनुहुन्थ्यो ।

किशनलालको विषयमा खोजी गर्दै गोरखापत्रले २०७६ माघ १७ गते उहाँको घर बैतडीको दशरथ चन्द नगरपालिका–५, मल्लीआईत पुग्दा तारा लेखकको घरमा खानेपानीको धारा नभएको विषयमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि दशरथचन्द नगरपालिका र वृहत् खानेपानी योजनाको पहलमा दुई वर्षअघि धारा जडान हुँदा तारा लेखक निकै खुसी हुनुहुन्थ्यो ।

घरमा खानेपानीको धारा नहुँदा उहाँकी धर्मपत्नी तारा लेखक कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको विषयमा गोरखापत्रले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि घरमा खानेपानीको धारा जडान हुँदा तारा लेखक खुसी हुनुहुन्थ्यो । 

किसनलाल लेखकले बैतडीबाट २०१५ सालमा चुनाव जित्नु भएको थियो । श्रीमान् सांसद हुँदा पनि तारा लेखक काठमाडौं जानु भएन । किशनलाल लेखक निर्वाचित हुने बेला बैतडी र दार्चुला एउटै जिल्ला थियो । हालको बैतडी १ नम्बर क्षेत्र र दार्चुला २ नम्बर क्षेत्र थियो ।

बीपी कोइराला बैतडी आउँदा किशनलाल लेखकलाई नै खोज्नुहुन्थ्यो । पछि राजा महेन्द्र आउँदा पनि किशनलालकै खोजी हुन्थ्यो । २०२२ साल असोज ९ गते किशनलालको टिबी रोग लागेर काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको थियो ।

२०१५ सालमा नवनिर्वाचित सरकार अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कुगरेपछि किशनलालले नवनिर्वाचित सांसद्को पद गुमाउनुपरेको थियो ।

२०१८ सालमा राजा महेन्द्र बैतडी भ्रमणमा आउँदा नवनिर्वाचित सरकार अपदस्थ गरेपछि जनताले चाहेको विकास अवरुद्ध भएको कुरा किशनलालले भाषण गर्नुभएको थियो ।

राजा महेन्द्र उपस्थित भएको कार्यक्रमको भाषणमा किशनलालले बैतडी सदरमुकाममा खानेपानी नभएको, बैङ्क नभएको, चमेलिया नदीमा पुल नभएको र हाइस्कुल नभएको तर प्रजातन्त्र अपहरण भएको कुरा राखेपछि राजा महेन्द्र किशनलाल लेखकबाट प्रभावित बन्नु भएको तारा लेखक साक्षी हुनुहुन्थ्यो ।

किशनलालको भाषण सुनेपछि राजा महेन्द्रले बैतडी सदरमुकाममा खानेपानी, बैङ्क, हाईस्कुल र चमेलिया नदीमा पुल हाल्ने प्रतिबद्धता गरे अनुसार सोही वर्ष बैतडीवासीको माग पूरा भएको बैतडीका पुराना समाजसेवी नेता पुष्पराज लेखकले बताउनुभयो ।    

किशनलालको समाज सेवाप्रतिको मोह देखेर राजा महेन्द्रले २०२१ सालमा लेखकलाई राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गर्नुभएको थियो । दुई पटक राजनीतिक लाभको पदमा पुगे पनि किशनलाल लेखकले सदरमुकाममा खानेपानी पुराए पनि आफ्नो घरमा निजी धारा जोड्नु भएको थिएन । गोरखापत्रमा समाचार प्रकाशित भएपछि दुई वर्षअघि मात्रै उहाँकी धर्म पत्नी तारा लेखकले खानेपानीको धारा पाउनु भएको थियो ।

किशनलाल लेखकको देहान्तपछि उहाँका धर्मपत्नीले भएको जग्गा बैतडी आँखा अस्पताललाई दान गर्नुभएको छ तर, अस्पताल निर्माणको काम पूरा नहुँदै तारा लेखकको पनि देहावसान भएको छ ।

गत वर्ष गोरखापत्रसँग कुरा गर्दै ताराले भन्नु भएको थियो–“अब त मेरा पनि आँखा धमिला भइसके । आँखा अस्पताल बनेको हेर्ने धोको थियो । जेठी दिदी पदमा लेखक एक वर्षदेखि प्यारालाइसिस भएर ओछ्यानमा थन्किनु भएको छ । दिदीको मानसिक अवस्था पनि राम्रो छैन । स्याहार गर्ने कुनै मान्छे छैन । मर्ने बेलामा दुबैजनाको अस्पताल बनेको हेर्ने धोको छ ।” 

किशनलालको मृत्युपछि राजा महेन्द्रले २०२२ सालमा दुई हजार रुपियाँ पठाएको तारा लेखकले बताउनु भएको थियो । 

किशनलाल लेखक बाँचुन्जेल उहाँ सधैँ, चमेलियामा पुल, बैतडी सदरमुकाममा हाईस्कुल, बैङ्क र खानेपानी हुनुपर्छ भनेर निरन्तर लागिपर्दा सबै कुरा पूरा भए पनि तारा लेखले जग्गा दान गरेर आँखा अस्पताल निर्माण गर्ने धोको फेरि पनि अधुरै रहेको छ । तारा लेखकको पार्थिव शरीर उहाँको घर मल्ली आइतका रहेको उहाँका भतिजा केशव लेखकले बताउनुभयो ।

मङ्गलबार बिहान नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दसहितका नेपाली काँग्रेसका नेताको उपस्थितिमा पार्टीका झण्डा ओढाएर महाकाली नदीमा दाहसंस्कार गर्ने तयारी रहेको नेपाली काँग्रेस बैतडीले जनाएको छ । तारा लेखकका भतिजाहरूले उहाँको दाहसंस्कार गर्ने कार्यक्रम छ ।