• १३ साउन २०८१, आइतबार

शहीद परिवारलाई उपेक्षा गरेकोमा गुनासो

blog

आन्दोलनमा घाइते भएका शंकर पासवान पेटमा गोली लागेर बनेको घाउ देखाउँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक २८ गते । महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने मधेश आन्दोलनका शहीद अमित कापरको बुबा रामवृक्ष कापरले शहीद परिवारको उपेक्षा भएको गुनासो गर्नुभएको छ । आफ्नै घरमा भेट्नु भएका कापरले मधेश आन्दोलनमा कमाउने छोरा गुमाउनुपर्दा ठूलो पीडा भएको दुःख व्यक्त गर्नुभयो ।

छोराले मधेशका लागि शाहदत्त दिई शहीद कहलाए पनि नेताले शहीद परिवारलाई उचित भरणपोषण र हेरचाह समेत नगरिएकोमा रोश प्रकट गर्नुभयो । सहिद कापरका आमा चन्द्रकला देवीले सो बेला घर बनाइदिने, परिवारको एक जनालाई नोकरी दिने र बालबच्चालाई राम्रो विद्यालयमा पढाइदिने भनिए पनि केही काम नभएको गुनासो गर्नुभयो ।

शहीद परिवारलाई नेताहरूले उचित व्यवस्थापन गर्नुपर्ने उहाँले माग गर्नुभयो । सत्तामा रहेका बेला शहीदलाई नसम्झिने र सत्ताबाट बाहिरिएपछि शहीदको नाम मात्रै भजाउने गरेको उहाँको गुनासो छ । 

२०७२ को मधेश आन्दोलनमा जलेश्वरमा सुरक्षाकर्मीको गोलीबाट शहादत हुनुभएका अमित कापरका आमा चन्द्रकलाले नेताहरूप्रति आक्रोशित हुँदै भन्नुभयो, ‘सहिद परिवारलाई भोट बैङ्कको रूपमा मात्रै नेताहरूले प्रयोग गरिरहेका छन् ।’

मधेश सरकारले छोरा सुजित कापरलाई घरेलु तथा साना उद्योग कार्यालय जलेश्वरमा कार्यालय सहयोगीको जागिर दिए पनि सो जागिरबाट घर धान्न समस्या भएको बताउनुभयो । 

अहिले निर्वाचन समयमा फेरि शहीद परिवारलाई आश्वासन दिने काम सुरुभएको उहाँले बताउनुभयो । गर्न सक्ने कामको मात्र सपना देखाउन पनि उहाँले नेताहरूसँग आग्रह गर्नुभयो । 


महोत्तरीको एकडारा गाउँपालिकाका मधेश आन्दोलनका घाइते शङ्कर पासवानले घाइते भएको बेला उपचार गराए पनि त्यसपछि आफूहरूको अवस्थाबारे कोही सोध्न नआएको गुनासो गर्नुभयो । विवाह भएको दुई महिना पुगेपछि भएको मधेश आन्दोलनमा सुरक्षाकर्मीको गोली पेटमा लागेर घाइते भएको उहाँको भनाइ छ ।

उपचारका लागि धेरै ठाउँ गुहार्नुपरेको बताउनुहुँदै आश्वासन मात्र दिने तर काम नगर्ने नेताको रवैया रहेको उहाँले गुनासो पोख्नुभयो । स्थानीय सञ्चारकर्मी गोपाल झाले मधेश आन्दोलनका शहीद परिवार र घाइते सबैको अवस्था नाजुक रहेको बताउनुभयो ।

नेताहरूले सहिद परवारप्रति चासो नराखेर सहिदको अपमान गरिरहेको उहाँले दुःख व्यक्त गर्नुभयो । शहीदहरूको त्यागले नेताहरू सत्तामा पुगे पनि परिवारका सदस्यको व्यवस्थापन नगरेको उहाँहरूको आरोप छ ।