नेपाल मधुमेह सङ्घको एक दशक पहिलेको तथ्याङ्कअनुसार सहरी क्षेत्रमा बसोवास गर्ने २० वर्षमाथिका एक चौथाइमा मधुमेहको रोग वा पूर्व मधुमेहको समस्या छ। यसो हुनुको प्रमुख कारणमा गुलियो र चिल्लो खाद्यपदार्थ सेवनलाई मानिएको छ। बढेको मधुमेहका कारण हृदयाघात, पक्षघात, मिर्गाैला, आँखा, रक्तनली तथा दाँत र मुखलगायतका बिरामी बढिरहेका छन्। मधुमेहले औसत १३ वर्र्ष आयु घटाउने भएकाले मधुमेहबाट जोगिनसके आयु १३ वर्ष बढ्छ। युरोप, अमेरिकामा भन्दा १० वर्षपहिलेको उमेरमा नेपालमा मधुमेह देखिइरहेको छ, ३० वर्ष नपुग्दै मधुमेही बन्ने दिन प्रतिदिन बढिरहेका छन्।
नेपालमा अस्वस्थकर जीवनशैलीका कारण नसर्ने रोग बढ्दै गएकोमा हरेक १० मध्ये एक व्यक्तिमा मधुमेहको समस्या देखिने गरेको छ। हाल ग्रामीण क्षेत्रमा पाँच र सहरी क्षेत्रमा १५ प्रतिशत मधुमेही छन्। युवा उमेरमा पनि मधुमेह बढ्दै गएको छ। विश्वमा २५ प्रतिशत जनसङ्ख्या जोखिममा छन्, १.२ मिलियनभन्दा बढी बालबालिका र किशोरकिशोरी १९ वर्षसम्ममा टाइप १ मधुमेह र ५३७ मिलियन वयस्क २० देखि ७९ वर्षका मानिसमा मधुमेहको समस्या छ। जसमा करिब ५१ प्रतिशतमा पहिचान हुन सकेको छैन। विगतमा धनीमानी, सम्पन्नशालीमा मात्र पाइने रोग अहिले जीवनशैली, रोग पत्ता लगाउने विधि र सेवाको विस्तारसँगै मध्यम र गरिब वर्गमा पनि दिन प्रतिदिन देखिन थालेको छ। प्राप्त भौतिक सुविधाले मानिसलाई शारीरिक परिश्रमभन्दा मानसिक परिश्रम र अल्छी जीवन बिताउन प्रेरित गरेको छ। नेपालीमा रोगले शरीरका अङ्गमा असर पारिसकेपछि मात्र डाक्टरकहाँ पुग्ने र निदान हुने भएकाले रोगीको सङ्ख्या सोचेभन्दा बढी छ।
मधुमेह के हो ?
शरीरमा आंशिक मात्रामा वा पूर्ण रूपमा पेटको दायाँपट्टि रहेको प्यान्क्रियाज ग्रन्थीको बिटा कोर्षले निकाल्ने इन्सुलिनको कमी हुन गई या यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी/ग्लुकोजको मात्रा बढ्ने कार्बोहाइड्रेटको दीर्घकालीन रोगको अवस्थालाई नै मधुमेह भनिन्छ। यस अवस्थामा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज रगतमा अत्यधिक मात्रामा बढ्ने तर करोडौँ कोषिकामा प्रवेश गराउने हर्माेन इन्सुलिनको कमी कमजोरीले कोषहरूमा शक्ति उत्पादन हुन नसकेर शरीर एकदम कमजोर हुँदै जान्छ।
मधुमेहको राजधानी मानिने भारतसँगको समान रहनसहन, जीवनशैली र वातावरणले नेपाललाई पनि आक्रान्त बनाइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा २५ देखि ६५ वर्ष उमेरका नेपालीमध्ये १० प्रतिशत बढीलाई मधुमेह छ। भए गरेका सीमित अस्पताल सर्वेमा २५ प्रतिशत र सामुदायिक सर्वेमा १५ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखिएको छ। रोगले शरीरका अङ्गमा असर पारिसकेपछि मात्र डाक्टरकहाँ पुग्ने र निदान हुने भएकाले रोगीको सङ्ख्या सोचेभन्दा बढी छ। किनभने आफू साँच्चिकै मधुमेही हो भन्ने ७० प्रतिशत रोगीलाई जानकारी नै छैन। मस्तिष्कघात, हृदयाघात, मिर्गौला फेल, दृष्टिघात, अङ्गघात आदि हुँदा अस्पतालमा बल्ल मधुमेहका कारण भएको जानकारी पाउँछन्।
कारण
प्रमुख कारणमा वंशाणुगत र वातावरणीय मानिन्छ। नेपाल र भारत वंशानुगत रूपमा बढी पीडित छन् भने वातावरणीयमा सहरीकरण, खानपान, व्यायामको कमी र मोटोपना पर्छन्। चार–पाँच गुना बढी तौल भएमा, आलस्य जीवन, शारीरिक सुस्तता र व्यायामको कमी, शारीरिक आघात, मानसिक बोझ, उमेर ३० वर्षभन्दा बढी, गर्भवती महिलामा मधुमेह भएमा मधुमेह हुन सक्ने हुन्छ। त्यसैगरी लामो आयु, तयारी खानाको प्रयोग, चिल्लो खाना बढी, अनियमित भोजन, बढी प्रोटिन, गुलियो वस्तुको बढी सेवन, ब्रेकफास्ट जङ्क तथा फास्टफुड, धूमपान र मादक पदार्थ सेवन पनि सम्भाव्य कारण हुन्। रोगीको सङ्ख्या बढ्नुमा जनसङ्ख्या वृद्धि, सहरीकरणलाई पनि आँखा चिम्लन सकिँदैन।
लक्षण
सुरुको अवस्थामा लक्षण देखिइहाले पनि लक्षण यति सामान्य हुन्छन् कि यसकै भनेर छुट्याउन गाह्रो पर्छ। समाजमा प्रत्येक परिचित मधुमेहीका साथ तीन जना अपरिचित मधुमेही हुन्छन् भनिन्छ।
विभिन्न प्रकारको मधुमेहमा सुरुमा लक्षणविहीन हुने भए पनि पछि गएर एकै किसिमका लक्षण तथा जटिलता देखा पर्छन्।
शङ्कास्पद मधुमेहीमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाई लाग्नु, छिनछिनमा पिसाब लाग्नु वा पिसाब गरेको ठाउँमा कमिला वा कीरा देखिनु, राति पटक पटक पिसाब लाग्नु, बिनाकारण अचानक तौल घट्नु, आँखाले धमिलो देख्नु, शरीरमा पटक पटक सङ्क्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जिउ विशेषगरी गुप्ताङ्ग चिलाउनु, चिडचिडापन आउनु, यौन क्रियाकलाप घट्नु, कमजोरी महसुस हुन्छ। अन्य लक्षणमा मुख सुक्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, बान्ता हुनु, कालान्तरमा आँखा, मिर्गौला, स्नायु, रक्तनली र मुटुमा असर पर्न थालेपछि सोही मुताविक थप लक्षण देखा पर्छन्। यस्ता लक्षण देखा परेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।
खाली पेट फास्टिङमा, खाना खाएको दुई घण्टा पोस्टप्रान्डियलमा र अन्य समय -यान्डममा रगतमा चिनीको मात्रा नापेर तथा रगतमा चिनीको मात्रा बढी भएको बेला पिसाबमा जाँचेर पनि मधुमेह पत्ता लगाउन सकिन्छ। मधुमेह ठूला रोगको सुरु बिन्दु हो। रोगले जति च्याप्दै लग्यो, उति टाउकोदेखि खुट्टासम्म घातक रोग लाग्छन्। अधिकांश मानिसले रगत परीक्षण, खाना र व्यायाममा हेलचेक्र्याइँ गर्नाले असर विभिन्न अङ्गमा पर्छ। हेलचेक्र्याइँ गर्ने मधुमेहीमध्ये ७० प्रतिशतको मृत्यु मुटु तथा रक्त सञ्चारमा आएको खराबीले हुन्छ। त्यसैगरी ५० प्रतिशत पक्षघात स्ट्रोक, १० प्रतिशत रेनलफेलर, १० प्रतिशत विभिन्न क्यान्सर, ६ प्रतिशत सङ्क्रमण र १ प्रतिशत किटोएसिडोसिसले गराउँछ। विकसित मुलुकमा मधुमेह मृत्युको चौथो कारण हो। मधुमेहको छैटौँ जटिलता मुखको स्वास्थ्य हो।
रोकथाम
भुँडीको गोलाइ, तौल, सक्रिय जीवनशैली, नियमित व्यायाम तथा उच्च क्यालोरी र चिल्लोयुक्त खानामा परहेज र सन्तुलित खानाले मधुमेह रोक्न सकिन्छ। आफ्नो तौल ठीक अवस्थामा रहँदा ५० प्रतिशतमा मधुमेह लाग्दैन। दिनहुँ ४५ मिनेटको तीव्र हिँडाइ, शारीरिक परिश्रमले सन्तुलित तौल राखी मधुमेहबाट जोगिन सकिन्छ। स्वस्थ रहने सबैभन्दा सरल र सजिलो उपाय पैदल हिँड्नु हो। जसको कुनै विशेष तयारी गरिरहन पर्दैन। पैदल हिँड्दा मानसिक विकृति, स्ट्रोक, क्यान्सरसहित दुई दर्जन रोगको खतरालाई कम गर्न सकिन्छ। हिँड्नाले रगतमा ग्लुकोजको स्तरमा कमी आउनुका साथै ग्लुकोज उपयोग गर्ने शारीरिक क्षमता बढ्छ।
मधुमेहबारे बिरामी स्वयं चनाखो, सुसूचित र शिक्षित हुनुपर्छ। मधुमेहको उपचारमा डाक्टरजति नै बिरामी स्वयंको पनि इच्छाशक्ति, आत्मबल, धैर्र्यता र व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुन्छ। परिवारका सदस्य र सहयोगीले पनि रोगका बारेमा व्यवस्थापन, उपचार प्रक्रिया र जटिलताबारे जान्नुपर्छ।
सन् १९२२ नोभेम्बर १४ मा केनेडियन डा. फ्रेडरिक वान्टिङ्गले चाल्र्स बेस्टसँगै मधुमेहीको जीवन बचाउने इन्सुलिन पत्ता लगाएकाले र उनको जन्म दिन पनि भएकाले मधुमेहसम्बन्धी जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रूपमा मनाइन्छ। विश्व मधुमेह सङ्घले सन् १९९१ देखि तथा विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् २००७ बाट यो दिवस मनाइँदै आएको छ। मधुमेहको पहिलो औषधि जानकारी भएकाले यस वर्ष उपचार र स्याहारका लागि पहुँचका लागि काम भन्ने नाराका साथ विश्वभर विश्व मधुमेह दिवस मनाइँदै छ।
सम्पन्न व्यक्तिको र उमेर ढल्किसकेका बूढेसकालको रोग मात्र ठानिने मधुमेह ३० वर्षभन्दा कम उमेर र गरिबमा देखिन थालेको छ। यो गति र प्रकारमा बिरामीको सङ्ख्या बढ्नु भनेको नेपालजस्तो देशले धान्न नसक्ने एकदमै विकराल र विस्फोटक स्वास्थ्य समस्या सिर्जना हुनु हो। जसलाई रोक्न तपाईं हामी सबै तह र तप्काका मानिस सचेत बनी तत्अनुसारको व्यवहार र जीवनशैली अपनाउन जरुरी छ।