• १२ असोज २०८१, शनिबार

चुनावी प्रचारमा हेलिकोप्टरको प्रयोगमा गम्भीर बन्न गृहमन्त्रालयलाई आयोगको निर्देशन

blog

निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक २७ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको हो ।


उहाँले भन्नुभयो, ‘गृहको सन्दर्भमा हेलिकोप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो । अरू कामका लागि हेलिकोप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग सम्बन्धित कामहरू होला ।’’

उहाँले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको पनि बताउनुभयो ।


प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकोप्टर उडाउन पाउने उल्लेख गरेका कारण सङ्खुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताउनुभयो ।

‘‘हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा विषय आए । हिजो सङ्खुवासभा र मनाङको घटना आए ।  यो त गम्भीर हो । यसमा हामी भोलि कारबाहीमा जानुपर्छ । कारबाहीमा जाँदा फेरि कतै जिल्ला प्रमुख अधिकारी, त्यहाँको एसपी साबतिर तेर्सिने हो की ? डिएसपी साबतिर तेर्सिने हो की ? हेर्ने काम त उहाँहरूको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, सङ्खुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकोप्टर लिएर गयो । त्यसको ठूलो उजुरी आइरहेको छ । यस्ता कुरामा गम्भीर बनिदिनुहोस् ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा हालसम्म भौतिक उपस्थितिसहितको आचारसंहिता उल्लङ्घन कम रहेपनि सामाजिक सञ्जालमा बढेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिरहेको भन्नुहुँदै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील बन्न सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले भौतिक उपस्थितिसहितको आचारसंहिता उल्लङ्घन कम छ, तर अरू खाले बढ्दै गएको अवस्था छ । सामाजिक सञ्जालको विषय छ । सामाजिक सञ्जालको विषयलाई हामीले पनि सकेको कारबाही गरिरहेका नै छौँ । सामाजिक सञ्जालको यो बीचको प्रयोग अत्यन्तै संवेदनशील विषय छ ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढङ्गले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराउनु भयो । उहाँले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लङ्घनका घटना टिकटकबाट भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढङ्गले प्रभावित हुने स्थिति देखियो र अर्को आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्न चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने खाले कुरा भन्न पाइँदैन भनेको छ हाम्रा सबै कानुनमा ।’’


निर्वाचनमा मौन अवधि नरहेको : आयोग
प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताउनुभयो ।

उहाँले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहिता विपरितका गतिविधि रोक्न आयोग लागिपरेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताउनु भयो ।


प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लाहरूमा आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही गर्न कन्जुस्याइँ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पालना गर्न जिल्ला निर्वाचन आचारसंहिता कार्यान्वयन समितिलाई निर्देशन दिनुभयो ।

उहाँले आचारसंहिता उल्लङ्घन गर्नेमाथि अनुनय गर्ने नभई कारबाहीको प्रक्रियामा अघि बढ्न पनि निर्देशन दिनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएका व्यक्तिहरूलाई जवाफसहितको फेहरिस्त मागेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको कारणबाट निर्वाचन महँगो नभएको जिकिरसमेत गर्नुभयो ।