• १५ असार २०८१, शनिबार

गठबन्धन दलको चुनावी सभा, अन्य दलको घरदैलो

blog

रुकुम पश्चिम, कात्तिक २७ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित रुकुम पश्चिमका विभिन्न दल तथा उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । जिल्लामा रहेको वाम लोकतान्त्रिक गठबन्धनले मात्र जिल्लाका विभिन्न स्थानमा चुनावी सभा गरिरहेको छ भने अन्य दल तथा उम्मेदवारहरू घरदैलो अभियानमै व्यस्त रहेका छन् । 

वाम लोकतान्त्रिक गठबन्धन दलको निर्वाचन परिचालन समिति संयोजक गोपालजि जङ्ग शाहले पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेर चुनावी सभाका कार्यक्रममा केन्द्रित भएको बताउनुभयो । नेपाली काँग्रेसका नेता समेत रहनुभएका शाहले जिल्लाभर ११ स्थानमा चुनावी सभा गरिने कार्यपालिका रहेको र शुक्रवारसम्म सात वटा चुनावी सभा सम्पन्न गरिएको जानकारी दिनुभयो ।  

वाम गठबन्धन दलको साझा उम्मेदवारको रूपमा प्रतिनिधिसभा सदस्यमा जनार्दन शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा महेन्द्र केसी र क्षेत्र नं. २ मा राजकुमार शर्मा उम्मेदवार रहनुभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा उम्मेदवार रहेका अन्य दल तथा उम्मेदवारले भने घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र बनाएको बताएका छन् । 

जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई प्रतिनिधिसभा सदस्य, नारायण कुमार शाह र कर्णबहादुर घर्तीलाई प्रदेश निर्वाचन क्षेत्र नं. १ र २ को उम्मेदवार बनाएको नेकपा एमालेले घरदैलो मार्फत मतदाता भेटघाट कार्यक्रम मात्र गरिरहेको जनाएको छ । एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले चुनावलाई भड्किलो, खर्चिलो बनाउनुभन्दा जनताका घरघरमा पुगेर आफ्ना एजेन्डा सुनाउने र उहाँहरूका गुनासो सुन्ने काम प्रभावकारी रहेको बताउनुभयो । यसपालि खुल्ला चुनावी सभाको कार्यपालिका नराखेर जिल्लाका प्रत्येक टोल बस्ती र घरघरमा मतदाता भेटिरहेको ओलीले उल्लेख गर्नुभयो । 

स्वतन्त्र तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका तारक केसीले पनि आफूले मतदातासँग घरदैलो मार्फत प्रत्यक्ष साक्षात्कार गरिरहेको बताउनुभयो । आफ्ना चुनावी एजेन्डा सहित घरदैलो अभियानबाटै प्रचारप्रसारलाई तीव्रता दिएको केसीले बताउनुभयो । 

त्यस्तैगरी जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागी उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाईजेशन पार्टी र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले पनि घरदैलो अभियान मार्फत चुनाव प्रचार प्रसार गरिरहेको जानकारी दिनुभएको छ ।  


स्वतन्त्र उम्मेदवार तारक केसी घरदैलो अभियान अन्तर्गत मतदाता भेटघाट गर्नुहुँदै । तस्बिर ः राजु लामिछाने

Author

राजु लामिछाने