• ७ मंसिर २०८१, शुक्रबार

नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू

blog

बिक्रमभक्त जोशी उन्नाइसवटा कथा लिएर ‘चोभार ब्लुज’ शीर्षकको पहिलो कथा सङ्ग्रहमार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखापर्नुभएको छ । उहाँको यो पहिलो कथाकृति भए पनि यसभित्र सङ्गृहीत प्रत्येक कथा अतुलनीय अनि अभिनव पनि बन्न सकेका छन् । एक्काइसौँ शताब्दीको समय–सन्दर्भको आजको नेपाली समाजको देश, काल, परिस्थिति, वातावरण आदिका सापेक्षतामा लेखिएका यसभित्र सङ्गृहीत कुनै पनि कथा कृत्रिम र बोझिला लाग्दैनन् । 

सङ्ग्रहमा सङ्कलित पहिलो कथा ‘उत्सर्ग’ देखि अन्तिम कथा ‘बाली बैजनी’सम्मका कथाहरूमध्ये अधिकांश कथामा खासगरी काठमाडौँ उपत्यका र त्यस आसपासको नेपाली समाज अनि त्यो समाजमा जसोतसो रूपमा जीवन घिसार्दै सास फेरिरहेका विविध मानव–जीवन सन्दर्भहरूको सूक्ष्म अध्ययन गरिएको छ । यति मात्र होइन, समसामयिक समाजको लोक–जीवनले बेहोर्नु परिरहेका विविध किसिमका उतार–चढाव र परिवर्तनहरूलाई विश्वसनीय किसिमले वर्णन गर्ने कार्यमा पनि कथाकार जोशीलाई सफलता मिलेको छ । जुन किसिमको स्थान र परिवेशमा आधारित भएर कथाको सिर्जना गरिएको छ, त्यहाँको भौगोलिक परिवेशहरूको यथार्थ, पात्रहरूको स्वाभाविकता, बोलीचालीमा आधारित स्थानीय कथ्य भाषाको प्रयोग, स्थानीय परिवेश र परिस्थिति, मानवका आकाङ्क्षा र जीवन–बाँच्ने र बचाउने क्रममा उत्पन्न हुन पुगेका विविध किसिमका असङ्गति, दुःख, पीडा अनि हाँसो र सङ्घर्ष आदिको अभिव्यक्ति कथाहरूमा पाइन्छ ।

यसमा सङ्गृहीत कथाहरू पढ्दा कोठाभित्र बसी कोरा कल्पनामा डुबेर कथाहरू कथ्नुभन्दा कथा सन्दर्भका कसीमा सम्बन्ध स्थान र घटनाहरूको सूक्ष्म अवलोकन र अध्ययन गरी कथा सिर्जना गर्नेतर्पm कथाकारको ध्यान आकर्षित हुन पुगेको प्रतीत हुन्छ । यही कारणले गर्दा कथाहरू बढी रोचक, यथार्थपरक, वास्तविक र विश्वसनीय पनि बन्न पुगेका पाइन्छन् । 

कथामा अत्यन्त छोटा–छोटा सरल वाक्यहरूको बाहुल्यता छ । एउटै शब्दका अनेकौँ वाक्यको प्रयोग पनि कथामा गरिएका छन् । संयुक्त र मिश्र वाक्यहरूको प्रयोग धेरै नै कम छ । अत्यन्त सरल र सबैलाई सहज हुने किसिमको मिठासपूर्ण भाषाशैलीको प्रयोग कथाहरूमा गरिएका छन् । खारिएका कथ्यशैली र यसमा नयाँ किसिमको प्रयोग अनि स्वैर यात्राको कसीमा स्वैर कल्पनामा आधारित कथानक लिएर कथाहरू लेखिएका छन् । 

कथाहरूमा अभिधा शब्दशक्तिभन्दा बढी लक्षणा शब्दशक्तिको बाहुल्यता पाइन्छ । यसले कथाहरूलाई अझ बढी सारगर्भित तुल्याउने कार्यमा महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रारम्भमा प्रत्येक कथाको कथानक अत्यन्त झिनोजस्तो प्रतीत हुने भए पनि कथा पढ्दै जाँदा र कथाले लिनसकेको विकासको गति अनि सारगर्भित उपसंहारका कारण प्रत्येक कथा जीवन्त बन्न सकेका छन् । 

बिक्रमभक्त जोशीको ‘चोभार ब्लुज’ आख्यान–साहित्य नै हो । यात्राका क्रममा सामाजिक जनजीवनका विभिन्न पक्षको अनुभव र अनुभूतिजन्य विविध जीवन–सन्दर्भहरूलाई लेखकद्वारा कथात्मक स्वरूपमा वर्णन गरिएकोले स्वयं लेखक र यसको प्रकाशकीय मन्तव्यले पनि यसलाई ‘निकथा’को संज्ञा दिइएको पाइन्छ । यात्राको क्रममा भेटिएका सामाजिक जनजीवनका विविध घटना–सन्दर्भ, बढी मात्रामा कथात्मक शैलीको प्रयोग र कथोपकथनका विविध पक्ष अनि उपख्यानभन्दा बढी आख्यान पक्षको सशक्त र सबल उपस्थितिका कारण यो कृतिलाई ‘निकथा’ को संज्ञा दिइनु सान्दर्भिक नै देखिन्छ । 

उपर्युक्त तथ्यका कसीमा हेर्दा ‘चोभार ब्लुज’ शीर्षकको यो कृति निश्चय पनि नेपाली कथा–साहित्यका क्षेत्रमा एउटा नवीन प्राप्ति बन्न सकेको छ । यसमा सङ्गृहीत कुनै पनि कथा नेपाली समाजको विषयवस्तुबाट टाढिएका छैनन् । प्रत्येक कथाले नेपाली लोकजीवनको वास्तविक पक्षलाई नजिकैबाट स्पर्श गर्ने कार्यमा सफलता पाएका छन् । आधुनिकताका नाममा यान्त्रिक सभ्यतामा आधारित नक्कली जीवन–चर्याका प्रति कथाहरूले प्रत्यक्ष–अपत्यक्ष रूपमा असन्तुष्टि अभिव्यक्त गरेका छन् । जीवनका बृहत्तर परिवेश र परिस्थितिजन्य विविध किसिमका सामाजिक जीवन–सन्दर्भहरूको सूक्ष्म विश्लेषण कथाहरूमा पाइन्छ । नवीन किसिमको शिल्प र कथ्यशैली, शब्दशक्तिको प्रयोगमा पाइने विशिष्टता, कथा–रचनाको बनोट र बुनोटमा पाइने विश्वसनीयता आदि यो कथा (निकथा) सङ्ग्रहको विशेषता बन्न 

पुगेका छन् । 

आजको एक्काइसौँ शताब्दीको आधुनिक समय–सन्दर्भमा पनि खासगरी नेपालको त्यसमा पनि काठमाडौँ उपत्यका र आसपासको ग्रामीण समाजमा नै सामन्तवादी प्रवृत्ति अन्त्यको विषय, शोषणरहित, समतामूलक र समावेशी समाजको निर्माण सन्दर्भहरू दिन प्रतिदिन किन झन्–झन् ओझेलमा पर्दै गएका छन् ? मानिसमा मानवता अर्थात् मानव हुनुको गुण किन हराउँदै गइरहेको छ ? जातिवादको कहाली लाग्दो पर्खाल अझ किन अग्लो हुँदै गइरहेको छ ? सुखको कल्पना गर्दै विदेश पलायन हुनुपर्ने रहर वा विवशता अनि प्रत्येक मानिसमा आत्मकेन्द्रित छटपटाइकै कारण स्वयं परिवारकै सदस्यहरूले भोग्नु परिरहेको घात–प्रतिघात किन र कुन रूपमा घनिभूत हुँदै गइरहेका 

छन् ? मनभित्रका चाहना र भावनाहरूलाई मनभित्रै दबाएर आँसु पिएर बाँच्नकै लागि जीवन–घिसारिरहनु पर्ने मानवका दुर्नियतिहरू अझै किन अन्त्य हुन सकिरहेका छैनन् ? आजको एक्काइसौँ शताब्दीको समय–सन्दर्भमा मानिसमा देखा पर्ने अन्तद्र्वन्द्व, विषमता, नैराश्य, विकृति, विसङ्गति, आत्मकेन्द्रित प्रवृत्ति, स्वस्वार्थयुक्त व्यवहार, विशृङ्खलित हुँदै गएका सामाजिक, सामूहिक र पारिवारिक परिवेश आदि इत्यादि तमाम यथार्थ स्थितिहरूलाई उद्भाषित गर्ने काम कथाहरूले गरेका छन् । जीवनका विविध यथार्थ, मानव–मानवभन्दा पनि मानव र मानवेतर प्राणीबीच पाइने आत्मीयता, यन्त्रणै यन्त्रणाले भरिएको मानिसको मनस्थिति आदि विविध यथार्थको कसीमा हराउँदै गएको मानवीय मूल्य र मान्यताको खोजी कथाहरूले गरेका छन् । 

कथा सङ्ग्रहमा सङ्गृहीत ‘उत्सर्ग’, ‘यात्राका अनुत्तरित प्रश्नहरू’, ‘पर्खाल’, ‘बोसन हाइट’, ‘यो जात्रा अनि त्यो जात्रा’, ‘ख्याक मान्छे र कुकुर’, ‘चोभार ब्लुज’ आदि शीर्षकका कथाहरू यसका उदाहरण बनेका छन् । 

‘बाली बैजनी’ शीर्षकको कथा भने विदेशी भूमिका विविध स्थान र पात्रहरूको चरित्र चित्रणमा आधारित छ र ती पनि नेपाली जन–जीवनका विविध सन्दर्भबाट टाढिएका छैनन् । यसमा सङ्गृहीत अन्य सबै कथा पनि यथार्थपरक र स्वाभाविक लाग्छन् । तिनले आफ्नो विश्वसनीयतालाई कहीँ कतै पनि खजमजिन दिएका छैनन् । सबै कथा पठनीय, सुरुचिपूर्ण र हृदयस्पर्शी बन्न सकेका छन् । यी सबै पक्षलाई मनन गर्दा बिक्रमभक्त जोशीको ‘चोभार ब्लुज’ शीर्षकको यो कृतिले उनको कथा–सिर्जनाको सशक्त पक्षलाई राम्ररी उद्घाटित गर्न सकेको पाइन्छ । साहित्य पोस्ट समूह प्रकाशक बनेको २२७ पृष्ठको यो कथा सङ्ग्रहको मूल्य ४५०÷– भने अलि चर्कै देखिन्छ ।