राजकुमार दिक्पाल
मानिसको बौद्धिक स्तर कुन किसिमको छ भनेर बुझ्न उसले पढ्ने गरेको पुस्तकबाट थाहा हुन्छ। मानिसमा जुन किसिमको बौद्धिक स्तर छ, सोही किसिमको पुस्तक हुन्छ, उसको कोठामा ।
दार्शनिक मिचेल फुकोका भनाइअनुसार “सूचनाले सङ्कथन (डिस्कोर्स) सिर्जना गर्छ र सङ्कथनले ज्ञान निर्माण गर्छ।”
ज्ञानका विभिन्न स्रोतमध्ये पुस्तकको महत्व ठूलो छ। पुस्तकबिनाको संसार अन्धकार हुन्छ। अर्का दार्शनिक सिसेरोले पुस्तकको महत्व दर्शाउँदै भनेका छन्, “पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा कुनै अन्तर हुँदैन ।” पुस्तकालय शब्द ‘पुस्तक’ र ‘आलय’ मिलेर बनेको छ । अर्थात् पुस्तक सङ्ग्रह गरिएको घरलाई पुस्तकालय भनिन्छ । नेपालका पुस्तकालयको संस्था नेपाल पुस्तकालय सङ्घ क्रियाशील रहेको छ।
सन् १०५ मा चीनमा कागजको अविष्कार भयो। जर्मन नागरिक जोहनेस गुटेनवर्गले जर्मनीमा सर्वप्रथम सन् १४४० मा आधुनिक छापाखाना आविष्कार गरे। त्यसैले उनलाई ‘आधुनिक छापाखानाका पिता’ भनिन्छ । त्यसबेला उनले तीन सयप्रति बाइबल छापेका थिए । यो नै संसारमा छापिएको पहिलो पुस्तक हो । यसअघि बाइबल भेडाको छालामा लेखिएको अवस्थामा थियो।
नेपालमा आधुनिक छापाखाना भिœयाउने श्रेय तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई जान्छ। उनी युरोप भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री हुन्। उनी एक वर्ष २९ दिन बेलायतलगायत युरोपको भ्रमण गरी वि.सं. १९०७ माघ २६ गते काठमाडौँ टेकेका थिए । साथमा उनले एक छापाखाना मेसिन पनि ल्याएका थिए । इतिहासमा ‘गिद्दे प्रेस’को नामले यो छापाखाना मेसिन चर्चित छ। नेपालमा पहिलो पटक छापिएको पुस्तक चाहिँ ‘मुलुकी ऐन’ हो। यो पुस्तक वि.सं. १९१० मा छापिएको हो। यो गिद्दे प्रेसमा नभई पाशुपत प्रेसमा छापिएको थियो । गिद्दे प्रेसमा चाहिँ इस्तिहारलगायत सरकारी कागजपत्र छापिने गथ्र्यो ।
दरबारमा रहेका पुस्तकको रेखदेख गर्ने मात्र नभई पण्डित झाले त्यसबेला अशुद्ध भएको पुस्तक शुद्ध बनाउने, दरबारमा नभएको पुस्तक अन्यत्र भए दरबारबाट रकम लिएर त्यस्ता पुस्तक खरिद गर्नेलगायतका आदेश पाएका थिए ।
यसरी आधुनिक छापाखाना आविष्कार हुनुअघि कागजको अविष्कार भएपछि मानिसले कागजमा लेखेर तयार पारेको हस्तलिखित पुस्तक हुन्थे। कागज आविष्कार हुनुभन्दाअघि पनि मानिसले विभिन्न उपाय अपनाएर लेख्ने गर्थे । उनीहरू अनेक उपाय अपनाएर सूचना एकत्रित गरी सङ्ग्रह गर्ने गर्थे ।
वर्तमान इराकका छेउछाउका प्राचीन सहर सुमेरिया, मेसोपोटामिया र असिरियाका बासिन्दाले सर्वप्रथम काठ वा ढुङ्गाको फेसो आकारको औजारले नरम माटाका खबटामा फेसो आकारको क्युनिफर्म लिपिमा लेख्न थाले । यो लिपिलाई नै मानिसको पहिलो लिपि मानिन्छ । उनीहरूले यो लिपिमा हजारौँ थान नरम माटाका खबटामा लेखेर घाममा सुकाए र ती सबै खबटा भविष्यका लागि सङ्ग्रह गरिराखे। आधुनिक पुस्तकको प्राचीन प्रारूप पनि ती नरम माटाका खबटाहरू नै हुन्। यो क्रम प्राचीन देशहरूमा ५५०० ई.पू. देखि ७५ ई. सम्म चल्यो । माटाका किताबपछि जनावरका छाला, हड्डी, काठ, मैन, बोक्रा, ताडपत्र, भोजपत्र, रेसम कपडा आदिमा लेखिन थालियो (इन्द्रप्रसाद अधिकारी, ‘पुस्तकालय आवाज डट कम’, सन् २०२० मे २८) ।
संसारमा यसरी पुस्तकालयको परिकल्पना भएको थियो। माटाका खबडा (क्ले–ट्याब्लेट)बाट आज पुस्तकको संसार ई–ट्याब्लेटमा आइपुगिसकेको छ। लिच्छविकालभन्दा अघिका लेख हामीले पाउन सकेका छैनौँ । त्यसबेला यहाँ पठनपाठन हुन्थ्यो वा हुँदैनथ्यो भन्ने विषयमा केही भन्न सकिँदैन । लिच्छविहरूले ढुङ्गामा राम्रा गद्य पद्य कुँदाएर राखेका हुनाले उनीहरूसँग पुस्तक पनि हुँदा हुन् भन्ने कुरा स्पष्ट छ। त्यसपछिका मल्ल, सेन, शाह इत्यादिका अभिलेख र पुस्तकहरू पनि पाइएकाले त्यसबेला केही पुस्तक सङ्ग्रह हुँदो हो भन्ने कुरा स्पष्ट छ (नयराज पन्त, ‘पूर्णिमा’, पूर्णाङ्क २७, कात्तिक २०२९ः१५३) ।
मध्यकालीन नेपालमा ग्रन्थालय, ग्रन्थकुटी, सफूथुछहेः आदि नामले पुस्तकालयलाई जनाइन्थ्यो भन्ने कुरा मल्लकालीन इतिहासमा वर्णित छ। मल्लकालमा राजाहरू पुस्तक लेखन, सङ्कलन तथा अध्ययनमा रुचि राख्थे । त्यस समय भक्तपुरको एउटा पुस्तकालयमा १४ हजार थान पुस्तकको सङ्ग्रह रहेकोबाट प्रभावित भई आफ्नो पुस्तकमा कर्कप्याट्रिकले भक्तपुरलाई ‘नेपालको वाराणसी’ भनेर चित्रण गरेका हुन् (अधिकारी, उही)।
संसारको सबैभन्दा ठूलो पुस्तकालय वासिङ्टन डीसीको क्यापिटल हिल भवनमा रहेको लाइब्रेरी अफ कंग्रेस हो। यहाँ विश्वका ४५० भन्दा बढी भाषाका सामग्री राखिएका छन्।
नेपालको राष्ट्रिय पुस्तकालय ललितपुरको हरिहर भवनमा अवस्थित छ। यो पुस्तकालयको स्थापना २०१३ साल पुस महिनामा भएको थियो। तत्कालीन नायब बडागुरुज्यू हेमराज पाण्डेका निजी पुस्तक खरिद गरेर पुस्तक सङ्कलन सुरु गरिएका यो पुस्तकालय पहिले सिंहदरबारभित्रको सिक्री ढोका नामको भवनमा रहेको थियो । २०१७ सालमा यसलाई सिंहदरबारबाट हरिहर भवनमा सारिएको हो। राजा त्रिभुवनले पनि राममणि आ.दी.को एक व्यक्तिगत पुस्तक सङग्रहालय किन्न चाहेका थिए तर चन्द्रशमशेरले स्वीकृति दिएनन्। यसो हुँदा राजा त्रिभुवनको पुस्तक किन्ने इच्छा पूर्ण भएन (डा. प्रेमकुमार खत्री र डा. पेशल दाहाल, ‘आधुनिक नेपालको सामाजिक इतिहास’, २०५३ः११६)।
नेपालमा पुस्तकालयलाई व्यवस्थित गर्ने श्रेय तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहलाई जान्छ। उनले पण्डित केदारनाथ झालाई पुस्तकको सम्भार गर्न खटाएका थिए। दरबारमा रहेका पुस्तकको रेखदेख गर्ने मात्र नभई पण्डित झाले त्यसबेला अशुद्ध भएको पुस्तक शुद्ध बनाउने, दरबारमा नभएको पुस्तक अन्यत्र भए दरबारबाट रकम लिएर त्यस्ता पुस्तक खरिद गर्नेलगायतका आदेश पाएका थिए। उनका लागि ७० रुपियाँ तलब पाउने गरी दुई जना सहयोगी पनि राख्ने बन्दोबस्त गरिएको थियो। झालाई भने खान्गीस्वरूप १२५ रुपियाँ तलब तोकिएको थियो। वि.सं. १८६९ भदौ वदी ६ रोज ६ मा राजा गीर्वाणयुद्धविक्रम शाहबाट जारी गरिएको यो लालमोहर ‘प्राचीन नेपाल’को सङ्ख्या १ (असोज २०२४)को फलक सङ्ख्या ८ को ‘क’ चित्रमा छापिएको छ । पञ्चाङ्गअनुसार यो तिथि वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पर्छ (पन्त, उही)।
पछि यो पुस्तकालय जङ्गबहादुर राणाले थापाथलीस्थित आफ्नो दरबारमा सारे। जङ्गबहादुरले विभिन्न स्थानमा भएका पुस्तक र हस्तलिखित ग्रन्थको सुरक्षा गर्न मुन्सीखाना र जैसी कोठाजस्ता कार्यालय पनि खडा गरे। जङ्गबहादुरपछि रणोद्दीप सिंहले सैनिक प्रधान कार्यालयमा एक सानो पुस्तकालय खडा गरेका थिए । नेपालमा आधुनिक किसिमको पुस्तकालय स्थापना गर्ने श्रेय वीरशमशेरलाई छ। उनले वि.सं. १९५७ मा रानीपोखरीको पूर्वपट्टि नेपाल दरबार पुस्तकालयको स्थापना गरेका थिए। यो पुस्तकालयलाई घण्टाघर पुस्तकालय, सरकारी पुस्तक खाना, वीर पुस्तकालय आदि नामबाट पनि सम्बोधन गरिन्थ्यो। पुस्तकालय मात्र स्थापना नगरेर वीरशमशेरले पाण्डुलिपि सार्ने तथा लेख्ने मानिस पनि नियुक्त गरेका थिए। त्यहाँ सङ्ग्रह गरिएको पुस्तकको सूची तयार गर्ने काम विदेशबाट आएका सिसिल वेन्डाल तथा हरप्रसाद शास्त्रीले गरेका थिए। पछि चन्द्रशमशेरको पालामा पं. हेमराज गुरुज्यू र पं. सोमनाथ सिग्देलले पुस्तकालयमा रहेको पुस्तकलाई नयाँ रूपमा क्याटलिङ गरेका थिए (खत्री र पेशल दाहाल, उही ः ११५–११६)।
वीर पुस्तकालयलाई वि.सं २००९ मा पुरातìव विभागअन्तर्गत राखियो र वि.सं २०२४ पछि घण्टाघरस्थित वीर पुस्तकालयको पुस्तक राष्ट्रिय अभिलेखालयमा सारियो। राष्ट्रिय अभिलेखालयको पूर्वरूप भने वीर पुस्तकालय नै हो।
चन्द्रशमशेरको मृत्युपछि वि.सं. १९८६ मङ्सिर १२ गते भीमशमशेर श्री ३ महाराज घोषित भए। सत्तामा आउनेबित्तिकै पुस्तकालय खोल्ने अनुमति माग्ने नेपालका पढेलेखेका बौद्धिक युवालाई उनले सजाय गरे। त्यतिखेर पुस्तकालय स्थापना गर्ने अभियान चलाएका युवालाई उनले एक–एक सय रुपियाँ जरिबाना असुलेर आइन्दा पुस्तकालय खोल्ने प्रयास नगर्ने गरी उनीहरूलाई मुक्ति दिए। त्यो बेलाको एक सय रुपियाँ जरिबाना सानो रकम होइन। यो पर्व नेपालको इतिहासमा ‘पुस्तकालय पर्व’को नामले परिचित छ।
२८ वर्षसम्म चन्द्रशमशेरजस्ता धूर्त प्रधानमन्त्रीको मातहतमा मुख्तियार भई बसिसकेका अनुभवी नयाँ महाराज भीमशमशेरले संसारको बदलिँदो परिस्थिति पनि राम्रोसँग जाने बुझेका थिए। त्यसैले यिनले नरम नीति अपनाएर राजकाज चलाउनेछन् र यिनको कार्यकालमा जनताले थोरबहुत हकअधिकार उपभोग गर्न पाऊलान् भनी धेरैले आशा राखेका थिए । यही आशामा केही शिक्षित युवाले एउटा सार्वजनिक पुस्तकालय खोल्ने विचार गरे। यही विषयमा छलफल गर्न करिब ४५ जना युवा एउटा घरमा जम्मा भएर काठमाडौँमा एउटा सार्वजनिक पुस्तकालय खोल्न अनुमति पाऊँ भनी महाराजकहाँ बिन्ति चढाउने भनी सल्लाह गरे। यो कुरा गुप्तचरले थाहा पाई पुलिस विभागका तालुकवाला रामशमशेरकहाँ जाहेर गरे। यो पुस्तकालय अवश्यै राजनीतिक विचारधाराबाट प्रेरित भई खोल्न खोजेका हुन् र यस्तो पुस्तकालय स्थापना गर्न दिएमा त्यहीँबाटै सरकारविरोधी गतिविधि बढेर भविष्यमा सरकारलाई खतरा पुग्न सक्छ भन्ने आफ्नो रायसहित रामशमशेरले महाराजमा जाहेर गरे। त्यसको भोलिपल्टै पुस्तकालय स्थापना गर्न खोज्ने योगवीर सिंह, लक्ष्मीरञ्जन जोशी, वैकुण्ठ लाकौल, ठाकुरनाथ रिमाल, चित्तधर उपासक, लक्ष्मीप्रसाद देवकोटा, महेन्द्रविक्रम शाह आदि पक्राउ परे। संयोगवश महेन्द्रविक्रम शाह जनरल हिरण्यशमशेरकी छोरीको नातेदार परेकाले यिनीहरूमाथि कडा कारबाही भएन तर जनही एक सय रुपियाँ दण्ड जरिबाना गरी भविष्यमा यस्तो कामकाज नगर्नू भनी चेतावनी दिएर सबैलाई मुक्त गरे (प्रमोदशमशेर राणा ‘राणाशासनको वृत्तान्त’, २०७०ः२३०) ।
पुस्तकालय स्थापना गर्नमा जोड दिनेहरूमध्ये कृष्णप्रसाद कोइराला, धर्मराज थपलिया, हर्षदास तुलाधर पनि सक्रिय थिए। उनीहरूले मच्छिन्द्रबहालमा पुस्तकालय खोल्ने विचार गरी भीमशमशेरसमक्ष निवेदन दिन हस्ताक्षर गराउँदै जाँदा सुरुमा १५ जना थिए, पछि ४५ जना पुगेका थिए । उनीहरूले यो निवेदन काजी मरिचमानलाई दिने विचार गरी धर्मराज थपलियालाई त्यहाँ पठाउँदा पहिलो पटक काजीले थपलियालाई गाली गरी पठाए। दोस्रो पटक फेरि काजीकहाँ युवा निवेदन लिएर पुगे। त्यसमा के तोक लाग्यो कसैले केही थाहा पाएनन् तर रामचन्द्र अधिकारीले पुस्तकालयको नाममा राजनीतिक उद्देश्य राखी सङ्गठन खोल्न लागेको भनी भीमशमशेरसमक्ष उजुरी हाले। त्यसपछि पुस्तकालय खोल्न तम्सने युवा पक्राउ परे। पक्राउ परेका युवालाई एक–एक सय रुपियाँ जरिबानासहित अब उप्रान्त यस्तो काम गर्ने छैनौँ भन्ने कागज गराई छाडियो। जरिबानाबाट उठेको रकमको आधा रकम रामचन्द्र अधिकारीलाई दिइयो। उनी नेपालका प्रशिद्ध वामपन्थी नेता मनमोहन अधिकारीका पिता हुन् (डा. राजेश गौतम, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका’, भाग १–२०६२ः३५)।
२०६२÷६३ तिर एक दिन नेपाल पुस्तकालय सङ्घका पदाधिकारीहरू इतिहासकार प्रा. दिनेशराज पन्तलाई भेट्न पुगे। उनीहरूले प्रा. पन्तलाई भीमशमशेरले पुस्तकालय पर्व घटाएको दिन पत्ता लगाइदिन आग्रह गरे। यसको उद्देश्य थियो– पुस्तकालय पर्व भएको दिनलाई राष्ट्रिय पुस्तकालय दिवस मनाउने ।
तर प्रा. पन्तले पुस्तकालय पर्व भएको दिन पुस्तकालय दिवस मनाउनेजस्तो पवित्र निर्णयका लागि नकारात्मक हुने सुझाव दिनुभयो। पन्तले आफूले केही अध्ययन गरेपछि मात्र निर्णय दिन सक्ने भनेर उनीहरूलाई पठाउनुभयो। त्यसपछि उहाँले पहिले ‘प्राचीन नेपाल’मा छापिइसकेको र पछि ‘पूर्णिमा’को पूर्णाङ्क २७ मा आफ्ना पिता नयराज पन्तले छपाएको राजा गीर्वाणयुद्धविक्रम शाहले पण्डित केदारनाथ झालाई दरबारमा रहेको पुस्तक सम्भार गर्न लालमोहर जारी भएको दिन भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसका रूपमा मनाउन उचित हुने सुझाव दिनुभयो। त्यसपछि नै हरेक भदौ १५ गतेलाई नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउन थालिएको हो।