• १२ असोज २०८१, शनिबार

प्रतिस्पर्धी बन्ने वातावरण बनाउँछौँ : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई प्रतिस्पर्धी बनाइने बताउनुभएको छ । सबै नागरिक सक्षम र प्रतिस्पर्धी भएमा आरक्षणको पनि आवश्यकता नहुने उहाँको भनाइ छ । 

झापाको दमकमा बिहीबार नेपाल उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । शास्त्रमा कहीँ पनि जातीय रूपमा विभेदको विषय उल्लेख नभएको भन्दै पछि कर्मकाण्डी रूपमा यस्तो विषय ल्याइएको उहाँले बताउनुभयो । मानिसले मानिसलाई होच्याउने काम हुनु समाजका लागि लाजमर्दो विषय भएको उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले जातीय विभेद गर्नेलाई कडा सजाय एवम् दण्डको व्यवस्था संविधान र कानुनले गरेको भन्दै यसको कार्यान्वयनसँगै समाजलाई उन्नत बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । हामीले शिक्षा र सचेतनालाई सँगसँगै लैजानु पर्छ, ओलीले भन्नुभयो, “सामाजिक पक्षका असमानतालाई हटाउँदै लैजानुपर्छ, विभेद अन्त्य गरिनुपर्छ ।”

झापा क्षेत्र नं. ५ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका ओलीले आरक्षणको विषयभन्दा पछाडि पारेको समुदायलाई कसरी शिक्षा राम्रो दिने र आत्मनिर्भर बनाउन प्रेरित गर्ने भन्नेमा लाग्न आग्रह गर्नुभयो । “आरक्षण त सीमित र टाढाबाठाले मात्र उपभोग गर्न थाले, सबैलाई शिक्षा र अवसरमा पहुँच दियो भने समाज आफै रूपान्तरण हुन्छ” ओलीले भन्नुभयो ।

“आरक्षणमा भर पर्नु हुँदैन त्यसका लागि राम्रो शिक्षा दिनुहोस्, आरक्षण छँदैछ, किन पढ्नु ? आरक्षण पाइन्छ पढ्नै पर्दैन भन्ने सोच राख्ने अवस्था हामीले बनाउनु हुँदैन” अध्यक्ष ओलीले भन्नुभयो । पछाडि परेको समुदायलाई अगाडि ल्याउन आरक्षण भन्दा पनि सीप र ज्ञान मुख्य कुरा भएको उहाँले बताउनुभयो । 

यो पुस्तालाई आरक्षण काम लाग्ला तर अर्को पुस्तालाई आरक्षण काम लाग्दैन किनकि हामीले अबको पुस्तालाई आत्मनिर्भर बनाउन, प्रतिस्पर्धी बनाउने काम गर्नुपर्छ उहाँले भन्नुभयो, “अहिलेको समय प्रतिस्पर्धी र गुणस्तरीय उच्च शिक्षाका लागि लाग्नु पर्ने समय हो, प्रतिस्पर्धात्मक क्षमता वृद्धिका लागि लाग्नुपर्छ ।” दक्ष भएपछि कसैले हेप्न नसक्ने उहाँले बताउनुभयो ।