• १३ साउन २०८१, आइतबार

कमला किनारमा तन्त्र मेला

blog

सन्तोष सुवेदी 

सिरहा, कात्तिक २४ गते । सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीको किनारमा लागेको तन्त्र मेला सकिएको छ। कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्ष यहाँ मेला लाग्ने गर्छ। मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुरलगायत जिल्लाबाट लाखौँ मानिसले कमला नदीमा स्नान गर्छन्। यो मेलालाई स्थानीयले भूत मेला भन्ने गर्छन्। 

देउता खेल्दै कमला नदीमा स्नान गरेपछि तन्त्र योग पाएको जनविश्वास छ। कमलेश्वरी देवीले तन्त्र विद्या वरदान दिने र धामी झाँक्री बन्ने विश्वासका साथ यहाँ स्नान गर्ने गरिन्छ। भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मुल धामीले मन्त्र सिद्धि दिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ। 

स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीत गाउने गर्छन् जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ। धामीहरूलाई कमला र गङ्गासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरिरमा देउता चढ्नेहरूलाई यहाँ ल्याउने गरिएको बताउनुभयो। 

तन्त्र विद्या सिक्न नचाहनेहरूले पनि यस दिन कमलामा स्नान गरेर ‘भगता’ सँग आशिष थापे आफ्नो सम्पूर्ण दुःख नाश हुने विश्वास गरिन्छ। तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। कमला नदीमा कात्तिक चतुर्दशीको साँझदेखि नै भीडभाड हुने गर्दछ। 

तन्त्र साधनामा विश्वास गर्नेहरू चतुर्दशीको रातभरि जाग्राम रही तन्त्र साधना गरेर भोलिपल्ट पूर्णिमाको दिन कमला नदीमा स्नान गर्ने गर्दछन्। मेलामा तन्त्र साधकको जमघट बाक्लो हुनेभएकाले पनि उनीहरूलाई हेर्नेको समेत भीड लाग्ने गर्छ।