• १६ भदौ २०८१, आइतबार

विकट गाउँ बगरामा मतदान स्थल भएपछि स्थानीयहरू उत्साहित

blog

जिल्लाको अति विकट बस्ती धवलाबिगरि गाउँपालिका ४ मुदीको बगरा बस्ती । तस्बिर: ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक २४ गते । म्याग्दीको दुर्गम बस्ती धवलागिरि गाउँपालिका ४ मुदीको बगरा गाउँमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान स्थल तोकिएपछि बगरा र सिमकोसका स्थानीयवासी खुसी भएका छन् । मतदान स्थल कायम भएसँगै मतदान गर्न एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । मतदान गर्न घण्टौँ हिँडेर टाढा जानुपर्ने भएकाले यसअघिका निर्वाचनहरूमा यहाँका मतदाता मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए । 

दुर्गम र विकट बस्तीका मतदातालाई निर्वाचनमा सहभागी गराउन जिल्ला निर्वाचन कार्यालयले यसपालि बगरामा थप  मतदान स्थल तोकेको हो । गाउँमै मतदान गर्न पाउने भएपछि बगरावासीमा खुसीयाली छाएको हो । यसभन्दा पहिलाका निर्वाचनहरूमा मतदान गर्न एक दिनको पैदल यात्रा गरेर मुदी स्थित बुद्धि विकास माविको मतदान केन्द्रमा  आउनुपर्दथ्यो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दुर्गम बस्तीका मतदानमा सहभागी बनाउन यसपालि बगरा स्थित कैलाश आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । मतदान स्थल तोकिएपछि वर्षौँ देखि मतदानबाट वञ्चित भएका स्थानीयहरूले यसपालि पहिलो पटक मतदानमा सहभागी हुने अवसर पाएका छन् । 

भीर र पहराको बाटोमा जोखिमपूर्ण यात्रा गरेर मतदान गर्न जानुपर्ने भएकाले बगरा र सिमकोसका बृद्धबृद्धा,अशक्त,सुत्केरी र कतिपय अवस्थामा गर्भवती महिलाहरु विगतमा मतदानको अधिकारबाट वञ्चित हुँदै आएका थिए । मतदान गर्न युवा र हिँड्न सक्नेहरू मात्र एक दिन अगावै मतदान स्थलमा पुगेर वास वस्नुपर्ने अवस्था थियो स्थानीयवासी हरि तिलिजाले भन्नुभयो ‘दुर्गमको बस्ती हामी मतदाताहरू आफ्नो अधिकारबाट बसौँ देखि वञ्चित हुँदै आएका थियौँ । यसपालि देखि गाउँमै मतदान स्थल तोकिएपछि स्थानीयहरू मतदान गर्न पाइने भएपछि उत्साहित भएका छन् ।’ दुर्गम भएकाले उम्मेदवार मत माग्न भने यहाँ आउँदैनन् उहाँले भन्नुभयो ‘उम्मेदवार देख्न पाइँदैन विश्वासका आधारमा मतदान गर्ने हो ।’

२०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा मतदानबाट वञ्चित भएका बगरावासी २०७४ को स्थानीय तह निर्वाचनपछि मात्र मतदाता नामावलीमा समावेश भएका थिए । २०७४ सालमा निर्वाचन कार्यालयको टोली बगरा पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको थियो । यस मतदान स्थलमा ७४ महिला र ८३ जना पुरुष गरेर एक सय ५७ जना मतदाता छन् । स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम भए पनि दुर्गम भएकाले कतिपय मतदान गर्नबाट वञ्चित भए । 

जिल्ला निर्वाचन कार्यालयले धवलागिरि गाउँपालिका ४ बगरा स्थित कैलाश आवि, ७ स्थित किसानी चन्द्रकुन्ता मावि धारापानी,मङ्गाल गाउँपालिका १ पूर्ण गाउँ स्थित जनजागृति मावि, ५ को सिर्कुममा नयाँ मतदान स्थल तोकिएको छ । 

त्यस्तै रघुगंगा गाउँपालिका २ खरौटा स्थित राम मन्दिर सामुदायिक स्वास्थ्य केन्द्र तथा वडा नम्बर ३ को पातेल्न स्थित हिमालय आविमा तथा अन्नपूर्ण गाउँपालिका ६ को पोखरेबगर आवि र ८ नम्बर वडाको काफल डाँडा आधारभूत विद्यालयमा नयाँ मतदान स्थल थप भएका हुन । सबै मतदातालाई सहज र सुरक्षित रूपमा मतदान स्थल पुग्न र मत खसाल्ने वातावरण बनाउन मतदातालाई पायक पर्ने गरी मतदान स्थल थप गरिएको जिल्ला निर्वाचन अधिकारी  घिमिरेले बताउनुभयो । जिल्लाभर ८६ हजार एक सय २० मतदाता रहेका छन् । 

Author

ठाकुरप्रसाद आचार्य