• १९ असोज २०८१, शनिबार

चरा मार्ने चिडीमार

blog

नेपालका विविध जातजातिमध्ये पर्दछ चिडीमार। वि.सं २०५८ को राष्ट्रिय जनगणनाअनुसार मुलुकमा रहेका एक सय एक जातिमध्ये चिडीमार ७०औँ बढी जनसङ्ख्या भएको जाति हो, त्यतिबेला यसको सङ्ख्या १२ हजार २९६ थियो। तर २०६८ सालको जनगणनामा यस जातिको कुल सङ्ख्या एक हजार २५४ मात्र देखाइएकाले एक दशकमा चिडीमारको सङ्ख्या कुन गतिले घटेको होला र भन्ने प्रश्न उठ्छ।

राष्ट्रिय दलित आयोगले दलितको परिभाषा दिँदै ‘हिन्दु वर्णाश्रम जाति व्यवस्था, वि.सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातजाति भनी जातीय भेदभाव एवं समाजमा अछूत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक रूपमा राज्यको मूल प्रवाहबाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित वर्ग भन्ने गरिएको छ’ भनी चिडीमारलाई दलित अनुसूचीमा राखेको छ। 

तर अन्य कानुनी प्रावधानमा चिडीमारलाई दलित वा गैरदलित भनिएको छैन। स्थानीय विकास मन्त्रालयले २०५४ चैत २८ गते एक निर्णय गर्दै विभिन्न २३ जातिलाई दलित सूचीमा राखेको भए पनि सो सूचीमा चिडीमारलाई राखिएको देखिँदैन। कतिपय चिडीमार अगुवाले आफूहरू दलित नभई जनजाति हौँ भन्ने गरेका छन्। थर बदल गर्ने वा जातीय पहिचान नबताउने गरेकाले पनि दुई जनगणनाको बीचमा चिडीमारको सङ्ख्या अस्वाभाविक तरिकाले घटेको हुन सक्छ। २०६८ सालको जनगणनाअनुसार यिनीहरूको जनसङ्ख्या वितरण पूर्वाञ्चलमा १०, मध्यमाञ्चल २६, पश्चिमाञ्चल ६, मध्यपश्चिमाञ्चल एक हजार २११ र सुदूर पश्चिमाञ्चलमा एक जना रहेको छ। बाँकेको नेपालगञ्ज, शमशेरगञ्ज, हवल्दारपुर, बेलासपुर, पुरैनी, चौधरिया, धम्बोजी र बर्दियाको गुलरिया नगरपालिकालगायत केही क्षेत्रमा यिनीहरूको बाक्लो बसोबास रहेको छ। 

चिडीमार भारतबाट पाँच/छ पुस्ता पहिले नेपाल प्रवेश गरेका हुन्। नेपालका घनाजङ्गलमा पाइने चरा र साना जनावरको सिकार गर्ने उद्देश्यले यिनीहरू भारतको उत्तर प्रदेशका विभिन्न स्थानका साथै बहराइच जिल्लाका नवावगञ्ज र बाबागञ्जबाट यता आएको विश्वास गरिन्छ।  भारतमा बहेलिया भनेर चिनिने यिनीहरू नेपाल आइपुग्दा चिडीमार भएको शुक्रऋषि चौलागाईंले आफ्नो पुस्तक ‘पहिचान’ मा उल्लेख गरेका छन्। 

चरा मार्नेभन्दा पनि जिउँदै समात्न यिनीहरूले विभिन्न जुक्ति लगाउने गर्छन्। छोपेका चरा आवश्यकताअनुसार बजारमा बेचिन्छ तर मारेको चरा तत्काल बेच्नुपर्ने र राम्रो पैसा नपाउने हुनाले यिनीहरूले जिउँदै चरा छोप्ने गर्छन्। नेपालगञ्जमा ‘बगेडी’ भनेर भँगेराको मासु लोकप्रिय बनाउन यिनीहरूको सिकारी सीप महत्वपूर्ण मानिने बताइन्छ। 

यिनीहरू हिन्दु हुन्। सबै परम्परा र चाडबाड हिन्दुकै समान छ तर जुठो सुतकमा केही भिन्नता छ। यिनीहरू आफ्नै जातिभित्रका अगुवाबाट नामकरण र अन्तिम संस्कार गराउने गर्छन्। आफ्नै जातिभित्र विवाह हुन्छ। मागी विवाहमा अभिभावक निर्णायक हुन्छन्। अभिभावकको अनुमतिबेगर विवाह गरे सामाजिक दण्ड हुन्छ। यस्तो दण्ड उनीहरूको पञ्चभेलाले गर्दछ। समाजविपरीत कार्य गरे जाति निकाला गरिने चलन थियो, अहिले छैन। यसलाई हुक्कापानी बारना भनिन्थ्यो। केटाकेटीले मन पराए आपसी समझदारीमा गाउँका मुखिया राखेर विवाह गर्ने चलन पनि छ। यिनीहरूले शिव, राम गणेश, हनुमान, दुर्गाको पूजा गर्छन्। पानी, घाम, रुख, पहाड/पर्वतको उपासना पनि गर्छन्। दशैँ, तिहार शिवरात्रि, माघेसङ्क्रान्ति, फगुवा (फागु) मुख्य चाड हुन्। जातीय भाषा नभए पनि अवधी नै यिनीहरूको मौलिक भाषा हो। नेपाली सम्पर्क भाषा हो। 

चरा मार्ने पेसा भएकाले यस कार्यका लागि यिनीहरूमा विशेष दक्षता पाइन्छ। चराका लागि ठूलाठूला जाल बनाउने गर्छन्। लिसो (लसा÷लासा) बनाउने र लिसो वरिपरि आहारा राखेर सानासाना चरालाई लिसोमा टसाउने काम निपूणताका साथ गर्छन्। लिसो बनाउन वर, पीपल, साल, खयरका रुखबाट चोप वा बोक्रा झिकेर त्यसको रसलाई पकाएर एक प्रकारको च्यापच्याप लाग्ने खोटो बनाउँछन्। 

कतिपयले चरा र स्यालको दुरुस्त स्वर निकालेर तिनीहरूलाई बोलाएर सिकार गर्ने गर्छन्। परापूर्वकालदेखि राजाहरूले गर्ने सिकारमा संलग्न हुने जात भनेर जातीय गर्व गर्ने केही चिडीमार सिकारका लागि पोख्त भएकाले राजाहरूको सिकार अभियानमा संलग्न हुन पाएको घटना सुनाउने गर्छन्। आफ्ना पितापुर्खाले राजाका सिकारमा हात्तीघोडा लिएर हिँड्ने, सिकारका लागि सहयोग गर्ने, वनजङ्गल चिनाउने, बाटो पत्ता लगाउनेजस्ता प्राविधिक काममा संलग्न हुने गरेकामा गर्व गर्छन्। 

तर अब त्यस्तो पुस्ता भेटिँदैन। विगतमा यिनीहरू धेरै टाढा, कतिपय अवस्थामा पहाडतिर पनि सिकार खेल्न जान्थे, खासगरी हिउँदमा। महिनाँै दिन यिनीहरू पहाडका फाँटमा अस्थायी छाप्रो बनाएर सिकारका लागि बस्थे, जिउँदा चरा समातेर लैजाने गर्दै। अहिले त्यस्तो पेसा हराउँदै गएको छ। साथै यिनीहरू माछा र गँगटा मार्न पनि पोख्त मानिन्छ।   

विगतमा चरा मारेर जीवन निर्वाह हुने भए पनि अहिले त्यस्तो अवस्था छैन। यिनीहरू क्रमशः खेतीपातीतिर पनि आकर्षित हुन थालेका छन्। केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले चिडीमारको सशक्तीकरणका लागि काम गर्दै आएका छन्। यिनीहरूले बालबच्चालाई विद्यालय पठाउन थालेका छन्, जबकि विगतमा बालबच्चा सिकार कार्यका लागि सहयोगी बन्थे। 

यिनीहरूको रहनसहन, लवाई खवाईमा व्यापक परिवर्तन आएको छ। यिनीहरू सामाजिक अभियान तथा राजनीतिक गतिविधिमा संलग्न हुन थालेका छन्। आधुनिकीकरणको प्रभाव परेकाले यिनीहरू क्रमशः व्यवस्थित जीवनयापनतिर लागेका छन् तर आर्थिक अवस्था ज्यादै कमजोर छ। लुम्बिनी प्रदेश सरकारले जनता आवास (चिडीमार) कार्यक्रमअन्तर्गत चिडीमारहरूलाई आधुनिक घर उपलब्ध गराइएको छ। 

चिडीमार दलित वा जनजाति जे भए पनि पहिला त उनीहरू नेपाली हुन्। आफ्नो जातीय स्वःपहिचानको अधिकार उनीहरूलाई नै छ। उनीहरूको सामाजिक–आर्थिक अवस्थाअनुसार राज्यले विभिन्न सुविधा उपलब्ध गराउँदा ‘अल्पसङ्ख्य, लोपोन्मुख तथा विपन्न’ भनेर राज्य निर्दिष्ट नयाँ परिचय थेगाउनु उपयुक्त देखिँदैन। 


–त्रिभुवनचन्द्र वाग्ले