• १६ भदौ २०८१, आइतबार

निर्वाचन सामग्री बोकेर घरदैलोमा स्वयंसेविका

blog

बागलुङ समाचारदाता

बागलुङ, कात्तिक २३ गते । बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखराकी स्वास्थ्य स्वयंसेविका भविकला थापाको झोलाभरि हिजोआज मतदाता शिक्षासँग सम्बन्धित सामग्री भेटिन्छ । स्वास्थ्य स्वयंसेविकाको निर्धारित काम स्वास्थ्य सचेतना भए पनि आमनिर्वाचनको मिति नजिकिएसँगै उहाँको भूमिका फेरिएको छ ।

झोलाभरि निर्वाचन शिक्षाका सामग्री बोकेर मत राख्ने, मतपत्र पट्याउने र निर्वाचन कार्यक्रमबारे जानकारी दिँदै उहाँको दैनिक समय मतदाताको घरदैलोमा बित्ने गरेको छ । 

काठेखोला गाउँपालिकाले निर्वाचन शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट थापालाई छनोट गरेपछि उहाँले मतदाता शिक्षा सहजकर्ताको भूमिका निर्वाह गर्न थाल्नुभएको हो । 

धान, कोदो भित्र्याउने चटारोका कारण मतदाता घरमा नभेटिँदा खेतबारीमै पुगेर सामूहिक रूपमा मतदाता शिक्षा सञ्चालन गर्नुपरेको स्वयंसेविका थापा बताउनुहुन्छ ।

“टाढाको ठाउँमा दुवै जना सहजकर्ता एकै पटक भएर सचेत गराउने र आफ्नो घर आसपासमा भने क्षेत्र विभाजन गरी सचेतना फैलाउने काम गरेका छौँ,” थापाले  भन्नुभयो । जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा स्वास्थ्यबारे सचेतनामूलक सामग्री हुन्थे । 

उहाँजस्तै जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकाहरूको दैनिकी मतपत्र, स्वस्तिक छाप, निर्वाचनका आयोगका प्रचार सामग्रीसँग चलिरहेको छ । वडामा एक जना कर्मचारी र एक जना महिला स्वास्थ्य स्वयंसेविका गरी दुई जना मतदाता शिक्षाका लागि सहजकर्ता छनोट गरेको छ । 

जिल्लाका अन्य स्थानीय तहले भने एक वडामा एक जना मात्र सहजकर्ता छनोट गरेका छन् । स्वयंसेविकाहरू घरघरमा पुग्छन्, भेटेकालाई बदर नहुने गरी मत राख्न सिकाउँछन् । मताधिकारको विषयमा सचेत गराउँछन् र आफ्नो बाटो लाग्छन् ।

“पहिलो पटक मतदाता शिक्षामा सहभागी भएँ’ बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापाले भन्नुभयो, “मलाई त रमाइलो लाग्यो, सिक्ने, सिकाउने र गाउँठाउँ बुझ्ने सबै काम भइरहेको छ ।”

मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको हो । निर्वाचन आयोगको निर्देशिका अनुसार जिल्लाका दसवटै स्थानीय तहले आफ्नो पालिकाका सबै वडामा कार्यरत स्वास्थ्य स्वयंसेविका छनोट गरी मतदाता शिक्षाका लागि जनशक्ति तयार गरेका थिए । 

जिल्लाका ८५ वटै वडाका टोलटोलमा शुक्रबारदेखि एकसाथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो । मतदातालाई मतदान प्रक्रियामा सहभागिता बढाउने तथा मत बदर हुन नदिने उद्देश्यले आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ ।