• १९ असोज २०८१, शनिबार

बाँके १ मा रोचक बन्दै प्रतिस्पर्धा

blog

सिराज खान 

नेपालगञ्ज, कात्तिक २३ गते । गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य ढकालबीचको प्रतिस्पर्धा रोचक बनेको छ। बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गहतराज नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ। 

एमालेका उम्मेदवार ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन  छ। उक्त क्षेत्रमा अन्य कुनै बलियो उम्मेदवार नरहेकोले सत्ता गठबन्धनका मन्त्री गहतराज र विपक्षी गठबन्धनका ढकालबीच सिधा प्रतिस्पर्धा देखिएको हो। 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार गहतराज यस पटक दोहोरिने दाउमा हुनुहुन्छ। एमालेका ढकाल भने पहिलो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार भए पनि नयाँ इतिहास रच्ने योजनामा हुनुहुन्छ। हालसम्मको कुनै पनि निर्वाचनमा सो क्षेत्रबाट एक पटक विजयी भएका उम्मेदवार अर्को निर्वाचनमा दोहोरिएको इतिहास छैन। 

तर मन्त्री गहतराजले आफूले गत पाँच वर्ष यो क्षेत्रका जनताका लागि गरेको कामको आधारमा फेरि दोहोरिने दाबीका साथ प्रचारप्रसारमा जुट्नुभएको छ। चार वर्ष सांसद र एक वर्ष मन्त्री भएर आफूले क्षेत्र नं. १ को सबैभन्दा पिछडिएको मानिने राप्तीसोनारी र नरैनापुरका लागि ऐतिहासिक काम गरेको मन्त्री गहतराजको दाबी छ। उहाँले हुलाकी सडक, विद्युत्, तटबन्धन, पाँच हजार विद्यार्थीलाई जस्ताको छानामुक्त र स्वास्थ्य चौकीलगायत अन्य क्षेत्रमा पनि धेरै काम गरेको बताउनुहुन्छ। सोही आधारमा जनताले राम्रो समर्थन गरिरहेको मन्त्रीको भनाइ छ। 

उता, एमाले राप्रपा गठबन्धनका साझा उम्मेदवार ढकालले भने सधैँ एकै जनालाई जनताले जिताउन नहुने भन्दै यस पटक चारैतिर परिवर्तनको लहर चलेको बताउनुहुन्छ। 

उहाँले भन्नुभयो, “दुई जना सशक्त उम्मेदवारमध्ये म बलियो र विजय नजिक छु।” स्थानीय निर्वाचनमा राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले अत्यधिक मत ल्याएकाले विपक्षी गठबन्धनभन्दा सत्ता गठबन्धनको मत धेरै देखिन्छ।