• १९ असोज २०८१, शनिबार

नागरिकता समस्या समाधान हुनुपर्छ : लोसपा

blog

काठमाडौँ, कात्तिक २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मधेश आन्दोलनसँग जोडिएकै मुद्दालाई लोसपाले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको छ । लोसपाले नागरिकता समस्याको समाधान, मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई घोषणापत्रमा प्रमुखताका साथमा समावेश गरेको छ । 

घोषणापत्रमा मधेश आन्दोलनका एजेन्डा अझै पूरा नभएकाले सोही मुद्दालाई प्राथमिकतामा राखेको छ । अझै पनि मधेशी जनता विभेदमुक्त हुन नसकेकाले विभेद अन्त्यको आवश्यकता रहेको विषय घोषणापत्रमा छ । संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रूपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूतिलाई घोषणापत्रमा समावेश गरिएको छ । 

लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा सुशासन, सदाचार र भ्रष्टाचारमुक्त समाज, पर्यावरणीय सन्तुलन र संरक्षण, सक्षम नेतृत्वको विषयलाई समेटेको छ । 

प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकार, व्यावहारिक शिक्षा विकासको मूल आधार, नागरिक स्वास्थ्य एवं समृद्ध देश, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, यन्त्रीकरण र बजार व्यवस्थापन, ‘चुरे जोगाऊँ मधेश बचाऊँ’जस्ता कार्यक्रम घोषणापत्रमा समावेश छ । जनकपुरको धार्मिक र सांस्कृतिक विकास र लुम्बिनीलाई विश्वस्तर चिनाउने कार्यक्रम सञ्चालन गरिने घोषणापत्र मस्यौदा लेखनमा सक्रिय रूपमा लाग्नुभएका नेता सुरेन्द्र झाले बताउनुभयो । उहाँले मिश्रित निर्वाचनको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो । सबै जातजातिको प्रतिनिधित्व सुनिश्चितताका लागि मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्र सार्वजनिक गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनको भावनाअनुसार संविधानले पूर्णता नपाएको हुँदा संविधानको संसोधन आवश्यक रहेको बताउँदै नागरिकतासम्बन्धी कानुन नबनेका कारणले १० लाख जनता नागरिकताविहीन भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको घोषणापत्रमा नै मुख्य रूपमा मधेशकै समस्या, एजेन्डा र मुद्दालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।  आन्दोलनको समयमा विभिन्न मु्द्दामा पक्राउ परेका आफ्ना थुप्रै साथीले थुनामा रहेकाले उनीहरूको रिहाइको माग अध्यक्ष ठाकुरले गर्नुभएको छ ।