• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवा धनगढीमा भेटघाटमा व्यस्त

blog

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्बिर

अविनाश चौधरी 

धनगढी, कात्तिक २२ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा नेता, कार्यकर्तासँग भेटघाटमा व्यस्त रहनु भएको छ। 

दुई दिनदेखि धनगढीस्थित आफ्नो निजी निवासमा प्रधानमन्त्री देउवाले विभिन्न जिल्लाका नेतासँग भेटघाट गर्नुभएको हो। भेटघाटका लागि नेताहरू पालैपालो प्रधानमन्त्रीको निजी निवासमा पुगिरहेका छन्। मङ्गलबार उहाँले कैलाली, कञ्चनपुरका नेतासँग निवासमै भेटघाट गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। ‘‘आज दिनभर उहाँ भेटघाटमै व्यस्त हुनुहुन्छ’’, स्वकीय सचिव देउवाले भन्नुभयो। 

सोमबारसमेत प्रधानमन्त्रीले विभिन्न नेता र असन्तुष्ट पक्षसँग भेटघाट गर्नु भएको थियो। खास गरेर टिकट वितरणपछि असन्तुष्ट देखिएका र स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेतालाई निवासमै बोलाएर प्रधानमन्त्रीले भेटघाट गर्नुभएको थियो। टिकट वितरणपछि असन्तुष्ट देखिनु भएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले सोमबार नै प्रधानमन्त्रीसँग भेट गर्नुभयो।  जोशीले कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनु भएको छ। 

प्रधानमन्त्रीले नेता, कार्यकर्तालाई निवासमै भेट गरेर चुनावी अवस्थाका बारेमा जानकारी लिनुभएको छ। यसैगरी, उहाँले भेटमा नेता, कार्यकर्तालाई नेपाली कांग्रेस पार्टी र गठबन्धनको पक्षमा लाग्न आग्रह गर्नुभएको छ। 

डडेलधुरामा आयोजित चार दिने चुनावी प्रचारप्रसारको कार्यक्रम सकेर आइतबार साँझ प्रधानमन्त्री देउवा धनगढी फर्किनु भएको थियो। त्यसपछि, दुई दिनदेखि धनगढीस्थित आफ्नो निवासमा बसेर नेता तथा कार्यकर्तासँग भेट गर्नुभएको हो। 

बुधबार भने उहाँ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जानुहुने कार्यक्रम रहेको छ।