• १९ असोज २०८१, शनिबार

चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : सिटौला

blog

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २२ गते । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनु भएको छ। 

झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सिटौलाले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। ‘‘चुनावपछि हाम्रो नेतृत्वमा सरकार बन्छ। नयाँ सरकारले मुलुकको विकासमा नयाँ गति सिर्जना गर्छ। संविधानको रक्षा र मुलुकको समृद्धि गर्ने हाम्रो अठोट हो’’, उहाँले भन्नुभयो।

जनताको विकासको चाहना पूरा गर्नका लागि आफूलाई जिताउन आग्रह गर्दै उहाँले कुनै पनि प्रकारको भ्रममा नपर्न अनुरोध गर्नुभयो। ‘‘संविधानलाई जोगाउने किसिमले बनेको लोकतान्त्रिक गठबन्धनकै कारण पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्छ’’,  उहाँले भन्नुभयो। 

समृद्धिको उद्देश्य पूरा गर्न र वास्तविक संविधान कार्यान्वयन गर्नका लागि आफू उम्मेदवार बनेको उहाँको भनाइ छ। ‘‘मुलुकमा राजनीतिक परिवर्तन र जनताको अधिकार प्राप्तिको लडाइँमा म सधैँ अग्रभागमा नै रहेको छु’’, सिटौलाले भन्नुभयो, ‘‘अब विकासको लहर ल्याउन पनि म अग्रभागमा नै रहेर काम गर्नेछु।’’