• १९ असोज २०८१, शनिबार

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै

blog

फाइल तस्बिर

काठमाडौं,  कात्तिक २२ गते । कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् आज (मङ्गलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  ।

ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिनेछ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बेलुकी ५ बजेर २७ मिनेट ग्रहणको उन्मीलन हुने बताउनुभयो । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको बताउनुभयो । कात्तिक २२ गते मङ्गलबार बिहान ८ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।

बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने उहाँले जानकारी दिनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।