• १६ भदौ २०८१, आइतबार

१० वर्षमा मुलुकको राजनीतिलाई सुधार गर्ने गगन थापाको प्रतिबद्धता

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, कात्तिक २२ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० वर्षमा मुलुकको राजनीतिलाई पुरै सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मङ्गलबार काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । 

महामन्त्री थापाले भन्नुभयो, ‘‘देशमा ठूलो परिवर्तन सबैलाई चाहिएको छ । संसदीय राजनीतिमा एउटा पद्धति छ । कोही प्रधानमन्त्री निर्वाचित हुने होइन । सांसद निर्वाचित भएपछि आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ । अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दाबी गर्न पाउँछ । तपाईँहरू मलाई अब अवसर दिनुहोस्  । म तपाईंहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’’

थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताउनुभएको छ। जनप्रतिनिधिले अब मतदातामाथि निर्वाचनमा गरेको वाचा अनुसार काम नगरे उनीहरूले फेरि चुनाव लड्न नपाउने उहाँको भनाइ छ। उहाँले यो पटक आफूहरूलाई ढिलो गर्ने सुविधा नभएको बताउनुभयो। संसदमा पुगेर मतदाताको इज्जत राख्न नसके फेरि मत माग्ने अवस्था बाँकी नरहने बताउनुभयो।  ‘‘यो पटक हामीलाई ढिलो गर्ने सुविधा छैन। असफल हुने सुविधा छैन। हामी ठूलो जिम्मेवारी लिएर संसदमा जाँदैछौं। यो जिम्मेवारीबाट कथंकदाचित् हामी कुनै पनि कारणले चुक्यौँ भने त्यसको मूल्य हामीले चुकाउनुपर्छ। त्यसका लागि तपाईँको साथ चाहिएको हो। एक्लैले सक्दिनँ। टिम चाहिन्छ। यस पटक पाइएको मतको प्रतिष्ठा राख्न सकिएन भने अर्को पटक उठ्न पाइँदैन। यस पटक मतदाताको इज्जत राख्न सकिएन भने अर्को पटक मत माग्ने व्यवस्था नै बाँकी हुँदैन", उहाँले भन्नुभयो ।

महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताउनुभयो।