• १३ साउन २०८१, आइतबार

बैतडीको चुनावी सभालाई देउवा र दाहालले सम्बोधन गर्नुहुने

blog

कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । फाइल तस्बिर

गोकर्ण दयाल

बैतडी, कात्तिक २२ गते। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार बैतडी आउने कार्यक्रम तय भएको छ। बुधबार दिउँसो बैतडीको पाटनमा हुने चुनावी सभालाई प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो। 

बुधबार बिहान दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर दुवै नेता बैतडीको पाटन आउने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो।  बैतडीका १० वटै स्थानीय तह र ८४ वटै वडाबाट हजारौँ नेता कार्यकर्ता बैतडीको पाटन आउने तयारीमा जुटेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

बैतडीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा सहभागी हुँदैछन्। प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्र कुँवर साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ भने सुदूरपश्चिम प्रदेश सभा सदस्य (क) मा  नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। 

कात्तिक १८ गते बैतडीको पाटनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो।   बैतडीमा प्रतिनिधिसभा सदस्यको एक सिटका लागि ११ जना चुनावी मैदानमा छन्। गठबन्धनविरुद्ध एमालेका दामोदर भण्डारी चौथो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।