• १९ असोज २०८१, शनिबार

निर्वाचनको माहोल थप बढाउन आग्रह

निजी व्यवसायीसँग निर्वाचन आयोगको अन्तरक्रिया

blog

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आयोजना गरेको निजी क्षेत्रका उद्योगी/व्यावसायीसँगको अन्तरक्रिया कार्यक्रममा धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : प्रदीपराज वन्त, रासस

राजेश चाम्लिङ राई 

कठमाडौं, कात्तिक २२ गते। निर्वाचन आयोगले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ। मङ्गलबार आयोगको कार्यालयमा ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्दै आयोगले यस्तो आग्रह गरेको हो। 

विभिन्न नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन’ आग्रह गर्नुभयो। उहाँले आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रवाह गरेर सहयोग गर्न आग्रह गर्नुभयो। 

व्यवसायीको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने विश्लेषण गर्नुहुँदै उहाँले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिन आग्रह गर्नुभयो। 

उहाँले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्य विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संसारको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्नुहुँदै आयोगले निर्वाचन मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकोमा खुसी व्यक्त गर्नुभयो। 

यसअघि स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिह्न हुँदा मतदाताहरू सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उहाँले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेर बदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्नुभयो। 

यसअघि पर्यटकका लागि निश्चित प्रावधानसहित बसको व्यवस्था गरिदिने अभ्यास रहेको स्मरण गराउँदै उहाँले यो मुख्य पर्यटकीय सिजन भएकोले यातायातको सहज आवागमन आवश्यक भएको बताउनुभयो। कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह गर्नुभयो।