• १९ असोज २०८१, शनिबार

अमेरिकामा आज मध्यान्तर निर्वाचन

blog

कृष्णराज खनाल

नर्थ क्यारोलिना (अमेरिका), कात्तिक २२ गते  । यही मङ्गलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ । यो निर्वाचनमा तल्लो सदन हाउसका सबै ४३५ र माथिल्लो सदन सिनेटका सयमध्ये ३५ स्थानमा निर्वाचन हुँदै छ । सो निर्वाचनमा ३४ जना गभर्नरलगायत स्टेटका अन्य थुप्रै पदमा पनि तँछाडमछाड चलिरहेको छ । 

अमेरिकी नागरिकले यो निर्वाचनलाई निकै महत्व दिएका छन् । अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा विरलै मात्र राष्ट्रपतिको सत्तासीन पार्टीले विजय हात पारेको छ । त्यसैले पनि यो निर्वाचनमा रिपब्लिकन पार्टीको वर्चस्व रहने कुरामा राजनीतिक पण्डितहरूको टिप्पणी र आकलन छ । तथापि दुवै पार्टीले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले विजय हात पार्नेमा जोड दिइरहेका छन् । 

अमेरिकाका राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति बाराक ओबामा चुनावी अभियान र ¥यालीमा सहभागी हुन तथा मतदातालाई डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई जिताउन देश दौडाहामा हुनुहुन्छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताएर अमेरिकी राजनीतिको चाबी आफूमा यद्यपि रहेको प्रमाणित गर्न लागिपर्नुभएको छ । 

यो निर्वाचनमा अमेरिकी मतदाताहरू मुद्रास्फीति भएको र ग्यास (पेट्रोल) निकै महँगोमा किन्नुपर्ने भएबाट भड्किएका छन् र वर्तमान राष्ट्रपति वाइडेनको पक्षइतरमा मत जाने सम्भावना व्यक्त गरेका छन् । विगतका यस्ता मध्यावधि निर्वाचनमा राष्ट्रपतिको पार्टीका उम्मेदवारहरूले पराजय बेहोरेका छन् । सन् १९४५ पछि भएका १९ वटा मध्यावधि निर्वाचनमध्ये हाउसमा १७ वटामा सत्तासीन पार्टीले पराजय बेहोरेको छ भने सिनेटमा १९ मध्ये १३ मा हार बेहोरेको छ ।

अहिले माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीको ४८, दुई स्वतन्त्र र ५० जना रिपब्लिकन पार्टीका सिनेटर छन् । दुई स्वतन्त्रले कुनै विषयमा पनि डेमोक्रेटिक पार्टीको पक्षमा आफ्नो मत जाहेर गर्दै आएकाले अहिले दुवै पार्टीका सिनेटर ५०÷५० छन् र आवश्यक परेका बखत उपराष्ट्रपतिले निर्णायक मत दिन पाउने प्रावधानले गर्दा डेमोक्रेटिक पार्टीको पल्ला भारी छ । उता तल्लो सदन हाउसमा पनि डेमोक्रेटिक पार्टीका २२० र रिपब्लिकन पार्टीका २१२  सदस्य छन् भने तीनवटा खाली छ । मङ्गलबारको निर्वाचनले यी सबै स्थानको निर्क्याेल गर्नेछ । रिपब्लिकन पार्टीलाई हाउसमा कब्जा जमाउन पाँच स्थान र सिनेटमा एक स्थान मात्र उक्लन सक्यो भने वर्तमान राष्ट्रपति बाइडेनले प्रयोग गर्ने सम्पूर्ण अधिकार छिनिनेछ । 

यसअघि नोभेम्बर ५ तारिख शनिबारसम्म प्रदान गरिएको दुई हप्ताको समयमा करिब २० प्रतिशत मतदाताले मतदान स्थलमा स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरेर आफ्नो मत अभिव्यक्त गरिसकेका छन् । यो निर्वाचनको अन्तिम मत परिणाम आउन करिब एक महिना लाग्ने बताइए पनि कुन पार्टीले कस्तो परिणाम ल्यायो भनेर केही दिनमै छिनोफानो हुनेछ ।

हाल अलास्का, अलाबामा, अर्कान्सस, आइडाहो, इन्डियाना, कन्सास, केन्टुकी, लुजियाना, मिजोरी, नर्थ डाकोटा र आयोवा, ओक्लोहामा, ओक्लोहामा (विशेष), साउथ डाकोटा र साउथ क्योरोलिना गरी १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व रहँदै आएको छ र यो निर्वाचनमा पनि उनीहरूका उम्मेदवारले विजय हात पार्ने लगभग पक्का छ । उता क्यालिफोर्निया, कनेक्टिकट, हवाई, इलिनोई, मेरिल्यान्ड, न्युयोर्क, भर्मन्ट र ओेरेगन गरी आठवटा राज्यमा डेमोक्रेटिक पार्टीको पक्षमा मत जाने पक्का छ । 

एरिजोना, कोलोराडो, न्युह्याम्पसायर र वासिङ्टन गरी चारवटा राज्य डेमोक्रेटिक पार्टीको पक्षमा जाने सम्भावना प्रबल छ भने फ्लोरिडा, नर्थ क्यारोलिना, ओहायो, युटाहा र विस्कन्सिन रिपब्लिकनको पक्षमा जाने सम्भावना प्रबल छ ।

राजनीतिक विश्लेषक तथा स्वतन्त्र सर्वेक्षणमा नेभाडा, जर्जिया र पेन्सिलभेनिया राज्यमा कडा प्रतिस्पर्धा हुनेछ भनेर औँल्याइएको छ । यी तीन राज्यको मतगणनामा धेरै दिन लाग्नसक्ने भएकाले पनि परिणाम ढिला आउनसक्ने सम्भावना पत्रपत्रिकाले औँल्याएका छन् । 

राष्ट्रपति बाइडेनले मतदातालाई मत हाल्नका लागि घरबाट बाहिर निस्कन र प्रजातन्त्र जोगाउन आह्वान गर्दै यो निर्वाचनमा दुवै सदनमा बहुमत ल्याउने उहाँले दाबी गर्नुभएको छ । उता रिपब्लिकन पार्टीका उम्मेदवारहरूले बाइडेनले अमेरिकालाई झन् जर्जर बनाएको र महँगी बढाएको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले चुनावी सभामा विपक्षीको बढ्दो आतङ्क रोक्न आह्वान गर्नुभएको छ । ‘फाइभ थर्टीएट’ भन्ने स्वतन्त्र निकायले गरेको निर्वाचन सर्वेक्षणमा रिपब्लिकनले सयमध्ये ७४ स्थानमा विजय हात पार्ने कुरा बताएको छ भने इकोनोमिस्टले गरेको सर्वेक्षणमा भने डेमोक्रेटिक पार्टीले सयमध्ये ६९ स्थानमा विजय हात पार्ने प्रक्षेपण गरेका छन् । धेरैजसो स्वतन्त्र सर्वेक्षणले भने रिपब्लिकनको पल्ला भारी हुने देखाएका छन् ।