• १३ साउन २०८१, आइतबार

चुनावी मुद्दा बन्यो , डेढ सय वर्ष पुरानो पुल

blog

गोकर्ण दयाल

बैतडी, कात्तिक २२ गते  । राजनीतिक दलले चुनावी मुद्दाका रूपमा डेढ सय वर्ष पुरानो झुलाघाटको जीर्ण झोलुङ्गे पुलको ठाउँमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पक्की पुलका लागि एक महिना लामो रिले अनशन बसेर सुनुवाइ नभएको पुलको विषय चुनाव आउँदा एक्कािस चर्चामा आएको हो ।

भारत स्वतन्त्र हुनुअघि नै इस्टइन्डिया कम्पनीले डेढ सय वर्षअघि बैतडीको झुलाघाटमा निर्माण गरेको झोलुङ्गे पुल जीर्ण हुँदा पटक–पटक मर्मत गरेर सञ्चालन गरिँदै आएको छ । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पक्की पुल नहुँदा दुई देशका नागरिक सास्ती खेप्दै आइरहेका छन् ।  

चुनावी अभियानका क्रममा कात्तिक १८ गते बैतडी आइपुग्नुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको सरकार बने झुलाघाटमा पक्की पुल निर्माण हुने वाचा गर्नुभएको थियो । चुनावी अभियानकै क्रममा केही साताअघि यहाँ आइपुग्नुभएका नेपाली कांग्रेसका नेता रमेश लेखकले गठबन्धनको सरकार बने झुलाघाटमा पक्की पुल र पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माण गर्ने वाचा गर्नुभएको थियो । 

पुरानो पुलका फल्याक भाँचिन थालेपछि गएको असारमा चार दिन नेपाल–भारत आवागमन बन्द गरेर जीर्ण पुल मर्मत गरिएको थियो । मर्मत भए पनि पुल कतिखेर भाँचिने हो ? भन्ने त्रास कायमै छ । निर्वाचनका बेला मात्रै झुलाघाटको पुलका बारेमा चर्चा हुने गरेको झुलाघाटका स्थानीय व्यवसायी रघुवीर थापाले गुनासो व्यक्त गर्नुभयो । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश पहाडी क्षेत्रका सर्वसाधारण रोजगारीका लागि अहिले पनि झुलाघाट नाका भएर भारतसम्म आवत–जावत गर्दै आइरहेका छन् । पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा यही बाटो भएर सुदूरका बैतडी र बझाङलगायतका जिल्लाका सर्वसाधारण उपचारका लागि झुलाघाट नाका भएर भारतीय अस्पताल जाने गरेका छन् । चार दशकअघि नै झुलाघाटसम्म सडक सुविधा पुगे पनि नाकामा पक्की पुल नहुँदा सीमा वारपार गर्ने यात्रु र सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१०, का कतिपय नेपाली विद्यार्थी दैनिकजसो झुलाघाट पारि भारतीय विद्यालयमा अध्ययनका लागि जीर्ण पुल तरेर जाने गरेका छन् । 

सीमानाकामा पक्की पुल नभएका कारण भरियामार्फत सामान आयात÷निर्यात गर्नुपर्दा प्रतिकिलो सात रुपियाँ भाडा तिर्नुपरेको सीमा क्षेत्रका व्यापारीको गुनासो छ । झुलाघाट नाका भएर भारतीय पर्यटक बैतडीको त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि आउने गरेका छन् । दुई देशका नागरिकबीच हुने विवाहलगायत धार्मिक कार्य गर्दा झुलाघाटमा पक्की पुल नहुँदा समस्या खेप्नुपरेको भारतीय सञ्चारकर्मी प्रमोद भट्टले बताउनुभयो । झुलाघाटमा पक्की पुल नहुँदा बैतडीका मन्दिरको दर्शन गर्न भारतीय पर्यटक पञ्चनपुर गड्डाचौकी भएर दुई दिनको बाटो पार गर्नु पर्दा धार्मिक पर्यटकको यात्रा महँगो हुने गरेको उहाँले बताउनुभयो ।   

पुलका लागि अनशन  

झुलाघाटमा पक्की पुल निर्माणका लागि २०७६ भदौ २३ गतेदेखि एक महिना रिले अनशन बसे पनि पुल निर्माणका लागि कुनै पहल नभएको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउनुहुन्छ ।  

अध्यक्ष चन्दले भन्नुभयो, “झुलाघाटमा पक्की पुलका लागि बैतडीमा अनशन बस्यौँ तर झुलाघाटको पुलका विषयमा सुनुवाइ भएन ।’’ दुई दशकअघि उद्योग वाणिज्य सङ्घ बैतडी र भारतीय व्यापारीको अगुवाइमा पक्की पुल निर्माणको माग राख्दै १० हजार हस्ताक्षर सङ्कलन गरेर नेपाल सरकार र भारतीय राजदूतावासमा ज्ञापनपत्रसमेत बुझाएको उहाँले बताउनुभयो । बैतडी सदरमुकामबाट १८ किलोमिटर झुलाघाटसम्म पक्की सडक भए पनि सीमामा पक्की पुल नहुँदा उपचारका लागि भारत जाने बिरामीलाई झुलाघाट नाकाबाट स्ट्रेचरमा बोकेर भारत लैजानुपर्ने बाध्यता छ ।