• १९ असोज २०८१, शनिबार

ब्याज वृद्धिको विरोधमा व्यवसायी

blog

घोराही समाचारदाता

घोराही, कात्तिक २२ गते । मङ्सिर ४ गते हुन थालेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार मतदाता भेट्न सहरदेखि गाउँगाउँसम्म पुगेर निर्वाचनको वातावरण तताइरहेको समयमा उद्योगी तथा व्यवसायी भने आन्दोलनमा जुटेका छन् । 

वाणिज्य बैङ्कले वृद्धि गरेको ब्याजदरविरुद्ध व्यवसायीले सडक आन्दोलन थालेका हुन्। दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको नेतृत्वमा उद्योगी तथा व्यवसायीले सोमबार घोराही, तुलसीपुर र लमहीलगायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैङ्क तथा वित्तीय संस्थाले महिनैपिच्छे बढाइरहेको कर्जा ब्याजदर घटाउनुपर्नेलगायतका माग गर्दै उद्योगी तथा व्यवसायी आन्दोलित बनेका हुन्। 

नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजीसम्बन्धी निर्देशन र त्यही निर्देशनका आडमा निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैङ्कले गरेको ब्याजदर वृद्धिविरुद्धमा व्यवसायीले आन्दोलन थालेको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बुढाथोकीले बताउनुभयो।

अध्यक्ष बुढाथोकीले महिनैपिच्छे ब्याज बढाउने, सेवा शुल्कको नाममा अनेकौँ शुल्क लिई थप आर्थिक भार थप्ने, ब्याज किस्ताका लागि तारन्तार दबाब दिनेलगायतका काम भइरहेको आरोप लगाउनुभयो। सङ्घले एक अङ्कको ब्याजदर कायम हुनुपर्ने, बैङ्कले विभिन्न शीर्षकमा लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुढाथोकीले बताउनुभयो।