• ९ मंसिर २०८१, आइतबार

बैतडी र दार्चुलामा गठबन्धनको चुनावीसभा हुने

पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न सभापति देउवाको आग्रह

blog

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्बिर

सुदूरपश्चिम,  कात्तिक २१ गते । धनगढीस्थित आफ्नो निजी निवासमा रहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको प्रतिनिधिसभा सदस्यका प्रत्याशी रहनुभएका प्रधानमन्त्री देउवाले निवासमा नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफललाई तीव्रता दिनुभएको हो । 

चुनावी प्रचारका लागि आफ्नो गृह जिल्लामा भएका सभामा सहभागी भएर आइतबार धनगढी फर्किनुभएका प्रधानमन्त्री देउवाले खासगरी टिकट वितरणपछि असन्तुष्ट नेता कार्यकर्तासँग भेटघाट गरिरहनुभएको हो । भेटघाटका क्रममा देउवाले चुनावी अवस्थाका विषयमा जानकारी लिइरहनुभएको हो ।

देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निष्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गर्नुभएको कांग्रेसका नेता गोविन्दराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भन्नुभयो, मैले धेरै अगाडि बढिसकेकाले चुनाव लड्न दिनुस् भनेँ ।”

जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रबाट कांग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर साउदलाई टिकट दिएको छ ।

कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । पाँच वर्षअघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्याशी रहनुभएकी कांग्रेस नेत्री डा. आरजु राणा देउवालाई अन्तरघात गरेर पराजित गरेको भन्दै कांग्रेसका नेता रहेका ओझा पार्टीको कारबाहीमा पर्नुभएको थियो ।

अहिले ओझाको पक्षमा कतिपय नेता कार्यकर्ता लागेपछि पार्टी सभापति देउवाले नेता कार्यकर्तालाई मनाउने कोसिस गरिरहनुभएको हो । क्षेत्र नं ५ कै प्रदेशसभा (२) मा कांग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रबाट कांग्रेसका युवा नेता क्षितिज भण्डारीले पार्टीबाट राजीनामा गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यसैबीच, प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नुहुने बताइएको छ । रासस