• १३ साउन २०८१, आइतबार

गोधूलि पुरस्कारबाट दुर्गादेवी नेपाल सम्मानित

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक २१ गते । विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाललाई आज काठमाडौँमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो । ताम्रपत्र सहित १० हजार रुपियाँ राशिको सो पुरस्कार ग्रहण गर्न उहाँ ओछ्यानबाट उठ्नु भएको थियो । 

गोधूलि साहित्य प्रतिष्ठानका का.वा. अध्यक्ष ललिता दोषीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रा.डा.उषा ठाकुरले  नेपाललाई पुरस्कार प्रदान गर्नुभयो । 

दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त हुनुहुन्छ । उहाँ आफ्नी छोरी इन्दिरा प्रसाईँसँगै काठमाडौँमा बसोबास गर्दै आउनु भएको छ । विभिन्न रोगका कारण नेपालको शरीरमा १२ पल्ट शल्यक्रिया भइसकेको छ । 

स्कुलको ढोका नदेखे तापनि नेपालले ‘उनैको माया’ कविता सङ्ग्रह र ‘बगेको खोला’ आत्मकथा लेख्नुभएको छ । सो जानकारी गोधूलि साहित्य प्रतिष्ठानका संयोजक प्रकाश समीरले दिनु भएको हो ।