गोरखापत्र समाचारदाता
कावासोती, वैशाख ९ गते । जनजाति महोत्सवमा जनजातिका हरेक गतिविधिले उत्साह छाउने गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पूर्वी नवलपरासीले आयोजना गरेको तेस्रो नवलपुर महोत्सवमा विभिन्न वेशभूषाका मौलिकता झल्किएका थिए । महोत्सवमा लाखेनाच प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा शिका नेवा गुठी पहिलो, देवचुली नेवा गुठी दोस्रो र भीमदेवचुली नेवा गुठी तेस्रो भएको छ । लाखेनाच प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
महोत्सवमा गायक बद्री पङ्गेनीको प्रस्तुतिसमेत रहेको थियो । सो क्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भमिलाल अधिकारीले महोत्सवले जनजातिका भाषा, कला र संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनुभयो । नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिले समृद्ध देश रहेको बताउँदै उहाँले महोत्सवले जनजातिका विविध संस्कृति उजागर गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो । महोत्सवमा आदिवासी जनजाति समुदायका परम्परागत सांस्कृतिक घर, खाना स्टलका साथै व्यापारिक स्टल, लन्डन ब्रिज, आइफल टावर, सेल्फी जोनलगायतका विशेष आकर्षण रहेका छन् ।