• १९ असोज २०८१, शनिबार

महिलालाई मतदाता शिक्षा

blog

पविता पौडेल 

सैनामैना, कात्तिक २१ गते । मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज रुपन्देही योगीकुटीमा महिलालाई मतदान शिक्षा दिइएको छ । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदातालाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको हो ।

नेपाल व्यूटीसियन सङ्घ रुपन्देही र पाँच दलीय गठबन्धनको संयुक्त आयोजनामा भएको कार्यक्रममा  क्षेत्र नं २ (ख)  गठबन्धनका प्रतिनिधि सभा सदस्य तथा जनुमुक्तिपार्टीका नेता  उम्मेदवार केशवबहादुर थापाले आफूहरू देशमा समृद्धि र सुशासन कायम गर्न लागिपरेको बताउनुभयो । 

मत बदर हुन नदिन मतदाताहरूलाई मतदान शिक्षाको आवश्यकता रहेको उहाँले बताउनुभयो । मतदाता शिक्षाले मतदाताहरूलाई  सजिलो हुने र मतदाता शिक्षा देशै भरी हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा  नेपाली कांग्रेसका नेता तथा गठबन्धन क्षेत्र नं २ प्रदेश सभा उम्मेदवार दीर्घबहादुर केसीले यसअघिको सरकार नेतृत्व गर्नेले विकासको काम गर्न नसकेकाले अव आफूहरूले सो काम गर्ने प्रतिबद्धता जनाउनुभयो । जनताका आधारभूत आवश्यकता बिजुली, पानी, बाटोघाटो निर्माण गरेर जनतालाई सहज वातावरण निर्माण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेकपा माओवादीका नेता तथा क्षेत्र नं २ (ख) का प्रदेशसभा उम्मेदवार बामदेव क्षेत्रीले भन्नुभयो “हामी जनताको आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले निर्वाचनमा होमिएका छौँ । आफ्नो अमूल्य भोटलाई सदुपयोग गर्नुहोला ।” आफूहरू नयाँ उम्मेदवार भएकाले एक पटक अवसर दिन उहाँले आग्रह गर्नुभयो । 

त्यसैगरी नेपाल व्यूटीसियन सङ्घ केन्द्रीय उपाध्यक्ष शान्ता शर्माले मतदाता शिक्षा आवश्यक ठानेर सो कार्यक्रम आयोजना गरिएको बताउँदै आफूहरूले व्यूटीसियन महिला मजदुरको हकहितका लागि सधैँ आवाज उठाइरहेको बताउनुभयो । चुनावपछि पनि महिला मजदुरका लागि विशेष सीपमूलक तालिमहरू आयोजना गरेर महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनुभयो ।

मतदानका बेला धेरै महिलालाई मतदान गर्न समस्या हुने र मत बदर हुने लागेर महिलालाई केन्द्रित गरी मतदाता शिक्षा अघि बढाएको सङ्घकी सचिव जुना राताले बताउनुभयो । मतदाता शिक्षामा खटिएका महिलालाई गाडीभाडा खाजा खर्च पनि दिइने उहाँले बताउनुभयो ।