• १६ भदौ २०८१, आइतबार

मुलुकको रुपान्तरणका लागि मेरो उम्मेदवारी : नेता पौडेल

blog

बन्दीपुरमा भोट माग्नेक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २१ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य तनहुँ –१ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूत गर्ने र मुलुकको रूपान्तरणको लागि केन्द्रित भएको बताउनुभएको छ । सोमबार तनहुँको बन्दीपुर गाउँपालिका –३ रामकोटमा आयोजित चुनावी सम्पर्क कार्यालयको उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।  

नागरिकका आकाङ्क्षा, सपना र पहिचानको लागि भौतिक संरचनाको समय अनुकूल विकास गर्नुपर्ने र सो कार्यको लागि आफू उम्मेदवार बनेको नेता पौडेलले बताउनुभयो । स्वावलम्बी, सम्पन्न र आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिनको लागि नागरिकलाई स्वतन्त्र, अधिकार सम्पन्न, आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिन जरुरी रहेको उहाँले बताउनुभयो । 

जात, लिङ्ग र भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिन राजनीतिमा आफू क्रियाशील रहेको नेता पौडेलले बताउनुभयो । नेपालका गरिब र निमुखा जनतालाई न्याय दिँदै जल, जमिन, जङ्गल, जडीबुटी, पर्यटन र संस्कृतिको परिचालन गरी समुन्नत गाउँ र सभ्य सहरसहितको समृद्ध नेपाल निर्माण गर्न आफूले उम्मेदवारी दिएको उहाँले प्रष्ट पार्नुभयो ।