• १६ भदौ २०८१, आइतबार

एमाले नेतृत्वको सरकारले मात्र समृद्धि कायम गर्न सक्छ : अध्यक्ष ओली

blog

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक २१ गते ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मात्र देशको आर्थिक समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ । 

एमाले स्याङ्जाले पुतलीबजारमा सोमबार आयोजना गरेको चुनावी सभामा ओलीले सो कुरा बताउनुभयो । गठबन्धनमा सहभागी राजनीतिक दलका नेताहरू स्वार्थको खेलामा लागेकाले देशको विकास गर्न नसक्ने उहाँले आरोप लगाउनुभयो ।

“यस पटकको चुनाव मुलकलाई उज्यालो र अँध्यारोतर्फ लैजानको लागि महत्त्वपूर्ण भूमिका रहन्छ, एमाले नेतृत्वको सरकारले मात्रै देशमा संवृद्धि ल्याउन सक्छ” उहाँले भन्नुभयो । गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएकाले त्यसकालागि एमाले नेतृत्वको सरकार सक्षम हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बन्दुक बोकेर सिमानामा गएर गुमेको भूमि फिर्ता हुने होइन, दुई देशबीचको अन्तरसंवाद, वार्ताको पहलबाटै भूमि फिर्ता ल्याउन सकिन्छ । त्यसकालागि एमाले सक्षम रहेको छ ।” नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने पनि उहाँले पुनः प्रतिबद्धता दोहोर्‍याउनुभयो । 

२०४२ मा स्याङ्जाको जेलमा बसेको स्मरण गर्दै स्याङ्जाका दुवै क्षेत्रमा एमालेले जित्ने विश्वास पनि अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । सङ्घीय निर्वाचनका लागि एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण मरासिनी र क्षेत्र नम्बर २ का पद्माकुमारी अर्याल लगायतले चुनावी सभामा सम्बोधन गर्नुभयो । देशको मुहार फेर्नलाई एमाले उम्मेदवारलाई मतदान गर्न उहाँहरूले आव्हान गर्नुभयो ।